२३ श्रावण २०८० मंगलबार
दाङः— देशका धेरै ठाउँमा अहिले पानी परिरहेको छ । दाङ सहित बाँके,बर्दिया,कैलाली,कञ्चनपर र पूर्वी नेपालका विभिन्न जिल्लामा ठुलो पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।दाङ र कुसुमको आसपास पनि ठूलो पानी परेको छ । अविरल वर्षाका कारण राप्ती, बबई र कर्णाली नदिको बहाव बढेको छ । दाङका लमही र लालमटिया तथा बाँकेको कुुसुमस्थित वर्षा मापन केन्द्रमा पनि भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । वर्षाले राप्ती नदीको दाङ र बाँके क्षेत्रमा जलसतह बढेको हो ।
मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार बाढी सतर्कता तह आसपास पुग्ने पूर्वानुमान गरिएको छ । बाढीले होचा भूभाग र तटीय क्षेत्रमा क्षति पुर्याउन सक्ने सम्भावना रहेकाले जोखिम क्षेत्रका बासिन्दालाई एसएमएस पठाएर सतर्क रहन महाशाखाले अनुरोध गरेको छ ।
त्यस्तै बर्दियाको बबई र कर्णाली नदीको बाढी खतराको तहसम्म पुगेको छ । बाढीको सतह बढ्ने क्रममा छ । त्यसैले जोखिम क्षेत्रका बासिन्दालाई सतर्क रहन जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । बर्दियाका रम्भापुर, सानोश्री चेपाङ, औरही खोला गोदना केन्द्रमा अत्यधिक वर्षा भइरहेको छ ।
त्यस्तै, कमला नदी, सिन्धुली रानीबासको जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ । त्यहाँ पनि तल्लो तटीय तथा डुबान हुने क्षेत्रहरुमा आज बिहानसम्म नै सतर्कता अपनाउन आग्रह गरिएको छ । दाङको लमही, भालुबाङ, कुसुम र आसपास पनि ठूलो पानी परेको छ । पश्चिम राप्ती नदीको बहाव बढ्ने र सतर्कता आसपास पुग्न सक्ने भएकाले राप्ती र यसका सहायक नदीमा बाढीको जोखिम छ ।बाँकेको कुसुम वर्षा मापन केन्द्रमा ठूलो वर्षा मापन भएको छ ।
त्यस क्षेत्र भइ बहने स–साना खहरे खोलाहरुमा आकस्मिक बाढी आउन सक्ने भएकाले कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम उच्च छ । बाढी पूर्वानुमान महाशाखाले सर्तकता अपनाउन अनुरोध गरेको छ ।त्यस्तै कञ्चनपुर र कैलालीको धेरै ठाउँमा पानी परेको छ । कान्द्रा, दोधा, मोहना, खुटीया, सुहेली, चौधर, रङ्घुन, पन्टुरालगायत साना खहरे खोलामा एक्कासी बाढी आउन सक्ने भएकाले तटीय क्षेत्र तथा डुबान भइरहने होचा भू–भागमा सतर्कता अपनाउन भनिएको छ ।
बाराको कलैया, सिमरा, निजगढ, रौतहटको गरुडा र आसपासमा पनि भारी वर्षा मापन भएको छ । बकैया नदी, जमनी नदी, पसाह नदी र अन्य नदीहरूमा आकस्मिक बाढी आउन सक्ने भएकाले तटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभागमा आज बिहानसम्म नै सतर्कता अपनाउन भनिएको छ ।आज कोशी, मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै र बाँकी प्रदेशको केही ठाउँमा पानी पर्ने सम्भावना छ