२२पौष २०७९ शुक्रबार
धनगढी — सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगर धनगढी उपमहानगरपालिकाको कार्यकक्षमा नै एकजना कर्मचारीले यौन क्रियाकलाप गरेको सार्वजनिक भएको छ।
उपमहानगरपालिकाको कृषि शाखामा कार्यरत भट्ट थरका कर्मचारीले यौन क्रियाकलाप गरेको सार्वजनिक भएको हो। सो खबर सार्वजनिक भएपछि उपमहानगरमा हलचल मच्चिएको छ।
ती कर्मचारीले कार्यकक्षको ढोकाभित्रबाट चुकुल लगाएको भेटिएपछि सोधखोज गर्दा एकजना युवतीसँग उनी यौन क्रियाकलाप गरिरहेको अवस्थामा फेला परेको उपमहानगरपालिका स्रोतले जानकारी दियो। ती भट्ट थरका कर्मचारीको भित्रबाट चुकुल लगाइएको कार्यकक्षमा भेटिएकी युवतीको पहिचान भने गोप्य राखिएको छ। तर उनी उपमहानगरको कर्मचारी नभएको दाबी गरिएको छ।
उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले घटना एक साताअघिको भएको बताए। ‘घटना केही दिन पहिलेको हो। त्यो फेरि कार्यालय समयभन्दा बाहिरको कुरा रहेछ। ती कर्मचारीलाई स्पष्टीकरण सोधिएको छ,’ उनले भने, ‘हामीले उहाँले दिएको जवाफमाथि अनुसन्धान गरिरहेका छौं।’
श्रेष्ठले सम्बन्धित कर्मचारीको स्पष्टीकरण कति विश्वसनीय छ भनेर अनुसन्धान भैरहेको बताए। ती कर्मचारीले बुझाएको जवाफको अध्ययन भइरहेको उनको भनाइ छ।