काठमाण्डाै – नवनियुक्त परराष्ट्रमन्त्री डा. विमला राई पौडेलले परराष्ट्र मन्त्रालयले नागरिकमा पुर्याउने सेवा र सुविधालाई सहज बनाउने कुरा आफूले पहिलो प्राथमिकतामा राखेको बताउनुभएको छ ।
आज मङ्गलवार परराष्ट्र मन्त्रीको शपथ ग्रहणपछि मन्त्रालयमा पदभार सम्हाल्दै मन्त्री पौडेलले मन्त्रालयबाट नागरिकमा प्रवाह हुने सेवालाई प्रभावकारी तुल्याउने, विदेशी कुटनीतिक नियोगहरूसँगको सहकार्य र नेपालका विभिन्न देशमा रहेका राजदूतावासमा नेपालीको सहज पहुँच बनाउने तीन प्राथमिकता रहेको बताउनुभयो । नेपालको परराष्ट्र नीतिलाई स्थिर बनाउन आफूले प्रयास गर्ने उहाँकाे भनाइ छ ।
उहाँले भन्नुभयो, ‘आउनासाथ सबै नीति फेर्नेतिर लाग्दिन । नेपालको असंलग्न परराष्ट्र नीतिअनुसार अघि बढ्ने हो । मान्छेपिच्छे परराष्ट्र नीति परिवर्तन हुनु हुँदैन । यति धेरै विज्ञहरू हुनुहुन्छ, भइरहेका नीतिमा खाडल छन् भने मिलाउँछौँ । हामी अन्तर्राष्ट्रिय क्षेत्रमा जसरी प्रस्तुत हुन्छौँ, हाम्रो इमेज त्यही हो । नेपालको सीमा विवादका विषयमा भने अहिल्यै बोल्नु हतार हुन्छ । नागरिकमा परराष्ट्र मन्त्रालयले पुर्याउने सेवा र सुविधालाई सहज बनाउने मेरो पहिलो प्राथमिकता हुनेछ । दोस्रो प्राथमिकतामा विदेशी कुटनीतिक नियोगहरूसँगको सहकार्य रहने छ । तेस्रो प्राथमिकतामा नेपालका विभिन्न देशमा रहेका राजदूतावासमा नेपालीको सहज पहुँच बनाउने छु ।’
मन्त्री पौडेलले नेपालको राजदूतावासमा नेपाली जाँदा घरजस्तो अनुभव गर्नुपर्ने भन्दै नेपालीहरू बाहिर जाँदा नेपालको राजदूतावासभित्र छिर्दा घर महसुस हुने वातावरण बनाउने बताउनुभयो ।