५ भाद्र २०८०, मंगलवार
बुटवल:- नेकपा एमालेको प्रथम लुम्बिनी प्रदेश अधिवेशन नजिकिएसंगै त्यसको तयारी तीब्र पारिएको छ ।प्रदेश अधिवेशनलाई मध्यनजर गर्दै मञ्च व्यवस्थापन, उद्घाटन सत्र तथा बन्द सत्र सञ्चालनका लागि प्राविधिकको टोली सहित नेकपा एमालेकी नेतृ एंव प्रदेश ईन्चार्ज पद्मा अर्यालले अर्यालले कार्यक्रम हुने स्थलको अवलोकन गरेकी हुन ।
यहि भदौ १६ र १७ गते बुटवलको अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा प्रथम लुम्बिनी प्रदेश अधिवेशन हुदैछ ।अधिवेशन हुने स्थलको अनुगमन गर्दै पार्टी सचिव समेत रहेकी अर्यालले मञ्चमा वक्तालाई उपस्थित गराउने बाहेक अतिथी आसनग्रहण नगराउने नेकपा एमालेको निर्णय लुम्बिनी प्रदेशको अधिवेशनबाट कार्यान्वयन हुने बताईन । उनले सोही अनुसार मञ्च व्यवस्थापन गर्न मातहतका पार्टी कार्यकर्तालाई सुझाव समेत दिएकी छन । ‘यो अधिवेशन पहिलो सार्वजनिक र ठूलो कार्यक्रम हुने छ। जुन कार्यक्रमले पार्टी केन्द्रको निर्णयलाई कार्यन्वयन गर्दै ऐतिहासिक र रचनात्मक सन्देश दिने छ,अर्यालले भनिन्।’
अर्यालले प्रदेश अधिवेशनमा पार्टी अध्यक्ष केपी ओली सहित आधा दर्जन बढी पदाधिकारी सहभागी हुने भएपनि पदाधिकारी सबैको आसन मञ्चमा नभई प्रतिनिधिको रोहमै रहने बताइन। कुल ८२ हजार ३०३ पार्टी सदस्य रहेको लुम्बिनी प्रदेशमा अधिवेशनका लागि १ हजार प्रतिनिधी छनोट हुने एमालेले जनाएको छ। जसको लागि यही भदौ ९ गते १०९ वटै पालिकाबाट एकैपटक प्रतिनिधि चयन गर्दैछ।
अधिवेशनमा मूल नेतृत्व सकेसम्म सर्वसम्मत बनाउने कोशिश रहने अर्यालले बताइन्। ‘सकेसम्म सर्वसम्मत् नेतृत्व छानौं भन्ने हो, यदि त्यसो हुन सकेन भनेपनि लोकतान्त्रिक विधिको प्रयोग गरि स्वस्थ प्रतिष्पर्धाबाट नेतृत्व चयन गर्ने बाटो खुल्ला रहन्छ,’ उनले भनिन्।
निर्वाचनमा जाँदा कार्यकर्ताहरुको मन र भावना विभाजित नहोस् भन्ने तर्फ पार्टी पंक्ति सचेत रहेको भन्दै उनले सर्वसम्मत् हुन नसके पार्टी नेतृत्वले कुनै जवर्जस्ती नगर्ने उनको भनाई छ। ‘नेतृत्वका लागि कसैले इच्छा देखाउनुहुन्छ भने उहाँको इच्छालाई पार्टी नेतृत्वले दवाउँदैन, इच्छुकले लोकतान्त्रिक विधि अनुसार स्वस्थ प्रतिष्पर्धा गर्न सक्नुहुन्छ,’ अर्यालको भनाई थियो।
अर्यालले अधिवेशनले लुम्बिनीमा पार्टीले लिने कार्यदिशा, सांगठनिक अनुशासन र पार्टीपंक्तिलाई परिचालन गरी जनतासँग एकाकार गर्ने कुरामा नयाँ मार्गनिर्देश गर्ने पनि बताइन्। वर्षा र गर्मीयामको समयलाई मध्यनजर गर्दै ठूलो जनसहभागिता नजुटाई अधिवेशन गरिने उनले बताईन्।