३० फाल्गुन २०७९, मंगलवार
म्याग्दी : नेकपा निकट अखिल क्रान्तिकारीले म्याग्दी बहुमुखी क्याम्पसमा तालाबन्दी गरेको छ।
स्ववियू निर्वाचनलाई लक्षित गरी सञ्चालक समितिको बैठकले संगठन दर्ता र भर्नाका लागि तोकेको समयअवधिको विरोध जनाउँदै सोमबार निर्वाचन कार्यालयमा ताला लगाएको हो।
उक्त संगठनकी म्याग्दी बहुमुखी क्याम्पस कमिटीकी संयोजक मनिषा दर्जीले सञ्चालक समितिको निर्णय सच्याउनुपर्ने माग गरेको बताइन्। ‘भर्ना र दल दर्ताको प्रक्रियामा असहमति छ’ विज्ञप्तिमा भनिएको छ।
चुनावको माहोल बढ्दै जाँदा क्याम्पसमा तालाबन्दी भएपछि स्ववियू निर्वाचनका मतदाता नामावली प्रकाशत, अन्तिम नामावली प्रकाशत, उम्मेदवारी मनोनयन लगायतका कार्यतालिका प्रभावित भएको निर्वाचन अधिकृत श्रीधर सुवेदीले बताए।
‘विद्यार्थी संगठनसँग छलफल गर्छौं, सबैको सक्रियतामा स्ववियू निर्वाचन सम्पन्न गर्नुपर्छ’, निर्वाचन अधिकृत सुवेदीले भने।
सोमबार भएको विद्यार्थी संगठनको छलफलमा समेत स्ववियू निर्वाचन घोषणापछि क्याम्पस प्रशासनले भर्ना गरेका नयाँ विद्यार्थीको विषयमा विद्यार्थीबीच फरक फरक राय प्रस्तुत भएको थियो।
सञ्चालक समितिको निर्णयानुसार पछिल्लो समय भर्ना भएका र स्ववियूको मिति घोषणाको दिनयता भर्ना भएका विद्यार्थीको विषयमा विद्यार्थी संगठनमा सहमति भएको छैन।
तालाबन्दीको विषयमा नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका गण्डकी प्रदेश संयोजक सुदिन पौडेलले केही संगठनले निर्वाचन बिथोल्ने प्रयास गरेको आरोप लगाएका छन्। म्याग्दी बहुमुखी क्याम्पसमा ९ सयको हाराहारीमा मतदाता छन्। स्ववियू निर्वाचन चैत्र ५ गतेलाई तोकिएको छ।