प्रदीप गुप्ता
२६ श्रावण २०८० शुक्रबार
नेपालगञ्जः—आगामी नेतृत्व चयनका लागि नेपालगञ्ज उद्योग वाणिज्य संघको निर्वाचन यहि भदौ २ गते हुदै छ।निर्वाचनको मिति नजिकिदै गर्दा नेपालगञ्जमा चुनावी सरगर्मी बढेको छ।
यसपालिको निर्वाचनमा समावेशी प्यानल र साझा प्रजातान्त्रिक प्यानलबीच चुनावी प्रतिस्पर्धा हुँदैछ ।दुवै प्यानल यतिबेला चुनावी प्रचार—प्रसारमा व्यस्त छन् । उनीहरु दिनहुँ व्यापारीहरुको घरदैलोमा पुगेर आफ्नो प्यानललाई जिताउन मतदाताहरुलाई आग्रह गरिरहेका छन्।
समावेशी प्यानलको नेतृत्व टंकबहादुर धामीले गरेका छन भने साझा प्रजातान्त्रिक प्यानलको नेतृत्व ललितकुमार रौनियारले गरेका छन ।धामी नेपालगञ्ज उद्योग वाणिज्य संघका हालका प्रवक्ता हुन भने रौनियार पटक—पटक संघको निर्वाचनमा अध्यक्ष पदमा लड्दै आइरहे पनि पराजित हुँदै आइरहेका छन ।
नेपाल सरकारको नीति अनुसार भारतसंग जोडिएको खुल्ला सीमालाई व्यवस्थापन गर्ने कुरालाई धामीले मुख्य चुनावी ऐजेण्डा बनाएका छन भने रौनियारले नेपालगञ्ज उद्योग वाणिज्य संघको वेथिती र व्यापारीको समस्यालाई मुख्य चुनावी एजेण्डा बनाएका छन ।
अध्यक्ष पदका दुवै उम्मेद्वारले आफ्नो जीत सुनिश्चित भएको दाबी गरिरहेका छन । तर धेरै जसो मतदाताले आगामी निर्वाचनमा कसले बाजी मार्छ ? भन्ने कुरामा एक किसिमको आकँलन गर्न थालिसकेका छन । यस पटकको निर्वाचनमा समावेशी प्यानलले विजयी हाँसिल गर्ने नेपालगञ्जका एक व्यवसायीले भने । उनका अनुसार अहिले समावेशी प्यानलको पक्षमा चुनावी माहोल देखिएको छ ।
उद्योग वाणिज्य संघका प्रवक्ता समेत रहेका धामी व्यवसायी माझ निकै लोकप्रिय मानिन्छ ।रौनियार विगतका निर्वाचनमा पटक पटक पराजित भएका कारण पनि उनी सबै मतदाताको रोजाईमा भने पर्न सकेका छैन। जसका कारण यस पटकको निर्वाचन पनि उनका लागि निकै भारी हुने सम्भावना रहेको छ ।
नेपालगञ्ज उद्योग वाणिज्य वाणिज्य संघमा बैजनाथ गाउँपालिका,खजुरा गाउँपालिका,डुडुवा गाउँपालिका नरैनापुर गाउँपालिका,जानकी गाउँपालिका र राप्ती सोनारी गाउँपालिकाका मतदाता रहेका छन।