९ श्रावण २०८० मंगलबार
काठमाडौं :- नेपालमा वार्षिक औसतमा ३९६ जनाको पानीमा डुबेर ज्यान जाने गरेको छ । जसमध्ये ५३.७ प्रतिशत २५ वर्षमुनिको समूहमा हुने गरेको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांकमा छ ।
प्राधिकरणका अनुसार अधिकांश घटना पौडी खेल्ने क्रममा, नुहाउने क्रममा, खोला/नदी तर्ने क्रममा एवं आत्महत्याका कारण हुने गरेको छ । नेपालमा असारदेखि असोज महिनामा पानीमा डुबेर वा पानीजन्य विपत्का कारण धेरैको ज्यान जाने गरेको छ ।
पानीमा डुब्नबाट रोकथामका लागि विश्व दिवसका अवसरमा राजधानीमा मंगलबार आयोजित डुबी हुने मृत्युको अवस्था एवं प्रभावकारी रोकथामका उपायहरुबारे छलफल कार्यक्रमका सहभागीहरुले पानीमा डुबेर हुने मृत्युलगायत घटना रोकथामका लागि जनचेतनामा जोड दिनुपर्ने आवश्यकता औंल्याएका छन् । कार्यक्रममा नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक डम्बरबहादुर विकले स्थानीय तहहरुले बजेटको सानो हिस्सा भए पनि छुट्याएर जनचेतनाको कार्यक्रमहरु गर्दा पानीमा डुबेर हुने मृत्युलगायत घटना न्यूनीकरण गर्न मद्दत मिल्ने धारणा राखे ।