३० जेष्ठ २०८०, मंगलवार
दाङ :नेपाल संस्कृत विश्वविद्यालयको पाँचौं दीक्षान्त समारोहको तयारी पुरा भएको छ ।बेलझुण्डीस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालय परिसरमा भोलि जेठ ३१ गते हुने दीक्षान्त समारोहको तयारी पुरा भएको समारोह मूल समिति संयोजक एवं विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवप्रकाश लामिछानेले जानकारी दिए ।
दीक्षान्त बिहान साढे ११ बजे हुने र यसका प्रमुख अतिथि भारतको सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय, वाराणसीका कुलपति प्राडा हरेराम त्रिपाठी रहेको जानकारी उनले दिए।
उनले भने, ‘१२ वर्षदेखि रोकिएको कार्यक्रम भोलि सम्पन्न हुनु गौरवको कुरा हो। यो कार्यक्रम प्रत्येक वर्ष हुनु पर्ने हो तर विभिन्न कारणले रोकिँदा भोलि हुन लागेको हो। भोलि कार्यक्रम सम्पन्न गरेर सुरक्षित तरिकाले कुलपति र प्रमुख अतिथिलाई पठाउनु संस्कृत विश्वविद्यालयको गौरवको कुरा हो। त्यति मात्र नभइ सिंगो दाङको लागि पनि गौरवको कुरा हो।’
दीक्षान्तसँगै विसं २०७६ सालसम्मका विद्यार्थीहरूले सक्कली प्रमाणपत्र लिन पाउने बाटो खुलेको समेत उनले बताए। उनका अनुसार कुलपति एवं प्रधानमन्त्री प्रचण्डको अनुकूल समयमा गत वैशाख १५ देखि वैशाख अन्तिम समयसम्म कार्यक्रम गर्ने तयारी गरे पनि प्रधानमन्त्रीको व्यस्तताका कारण भोलि हुन लागेको हो।
उनले भने, ‘हामीले वैशाख १५ देखि मसान्तसम्म समय मिलाउन अनुरोध गरेका थियौँ तर उहाँको व्यस्तताले गर्दा भोलि हुन लागेको हो। त्यसको लागि हाम्रो सबै तयारी पूरा भएको छ।’
यसपटक ५७५ जना विद्यार्थी दीक्षित हुन लागेका छन्। विभिन्न प्राविधिक कारणले गर्दा २०६७ सालयता दीक्षान्त भएको थिएन। १० वटा शैक्षिक सत्रमा विश्वविद्यालयबाट विद्यावारिधि, आचार्य, शास्त्री, एकवर्षे शिक्षा शास्त्री र बि।एम।एस उत्तीर्ण गरेका ४ हजार ७७३ मध्ये निवेदन दिएका ५७५ जना विद्यार्थी दीक्षित हुन लागेका हुन्।
विद्यावारिधि उपाधि हासिल गरेका १२० जना, आचार्य तह उत्तीर्ण १४५ जना, शास्त्री तह उत्तीर्ण १६३, आयुर्वेद स्नातक उत्तीर्ण ५७ र एक वर्षे शिक्षा शास्त्री उत्तीर्ण गरेका ९० जना दीक्षित हुने विश्वविद्यालयले जनाएको छ। विसं २०५४ सालबाट दीक्षान्त समारोह आयोजना गर्दै आएको विश्वविद्यालयले २०६७ सालमा चौथो दीक्षान्त समारोह गरेको थियो।