२०८१ फाल्गुन १६, शुक्रबार
अर्घाखाँची । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डिजिटल युगमा धार्मिक पर्यटकीय क्षेत्रहरूको प्रचारप्रसारलाई प्रविधिसँग जोड्न आवश्यक रहेको बताएका छन ।
सुपा देउराली मन्दिर संरक्षण समितिको १३औं साधारण सभाको शुक्रबार उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले प्रविधिको माध्यमबाट पर्यटकीय क्षेत्रको गतिविधीलाई व्यापक प्रचारप्रसार गर्न सकिए पर्यटन प्रबर्दनमा सहयोग पुग्ने बताएका हुन ।
मुख्यमन्त्री आचार्याले धार्मिक पर्यटन प्रवद्र्धनका लागि डिजिटल प्रविधिको उपयोग गर्नुपर्नेमा जोड दिए ।
उनले अर्घाखाँची जिल्लामा धार्मिक पर्यटकहरूको आकर्षण बढ्दै गएको बताए ।अर्घाखाँची धार्मिक, सांस्कृतिक र पर्यटनको दृष्टिकोणले अपार सम्भावना बोकेको जिल्ला हो । यहाँ पाणिनि तपोभूमि, अर्घा दरबार, मालारानी, बलकोट पौवा, सिद्धेश्वर मन्दिर जस्ता ऐतिहासिक तथा धार्मिक स्थलहरू छन् । सुपा देउराली मन्दिरमा वार्षिक लाखौँ भक्तजन आउने गरेका छन्, व्यवस्थित प्रचारप्रसार गर्न सकियो भने धार्मिक पर्यटन अझ विस्तार गर्न सकिन्छ’मुख्यमन्त्री आचार्यले भने,‘धार्मिक पर्यटकहरु आकर्षित हुदै गएको पाएका छौं । थप व्यवस्थित गरेर अघि बढ्न जरुरी छ ।’
मुख्यमन्त्री आचार्यले सुपा देउराली मन्दिरलाई थप व्यवस्थित बनाउन आवश्यक रहेको बताउँदै सफाइ, सुरक्षा र व्यवस्थापनमा सुधार गर्न निर्देशन दिए । उनले सफाइ कर्मचारीको व्यवस्था गर्न, भेटी संकलनको पारदर्शी उपयोग गर्न र मन्दिरको गुरुयोजना निर्माण गरी अगाडि बढ्नुपर्ने धारणा राखे ।‘संकलित भेटी मन्दिरको सौन्दर्यकरणमा खर्च गर्नुपर्छ’उनले भने,‘ठूला निर्माणका नाममा बजेट छरपष्ट गर्नु हुँदैन ।
पूर्वाधार निर्माणको जिम्मेवारी सरकारले लिन्छ, समितिले गुरुयोजनाका आधारमा काम गर्नुपर्छ ।’
मुख्यमन्त्री आचार्यले अर्घाखाँचीको धार्मिक पर्यटनलाई थप प्रवद्र्धन गर्नुपर्ने बताउँदै पाणिनि सम्मेलन आयोजना गर्न लागेको जानकारी दिए । ‘देशभित्र र बाहिरका धर्मगुरुलाई यहाँ ल्याएर पाणिनि सम्मेलन गर्दै छौँ’उनले भने,‘ पतञ्जलि ऋषि यही पवित्र भूमिमा जन्मनुभएको हो, यसको प्रचारप्रसार पनि सन्तोषजनक रूपमा हुन सकेको छैन । यसलाई प्राथमिकतामा राखेर अघि बढ्न जरुरी छ ।
मुख्यमन्त्री आचार्यले धार्मिक पर्यटकहरूको आगमन बढाउने हो भने योजनाबद्ध रूपमा काम गर्न आवश्यक रहेको बताउँदै व्यवस्थित प्रचारप्रसार गर्न सके वर्षको १५–२० करोड रुपैयाँ आम्दानी गर्न सकिने धारणा राखे ।
गुरुयोजनाले तोकेको निर्माण कार्य गर्न अब अरू कसैको मुख ताक्नुपर्ने अवस्था नरहने भन्दै धार्मिक पर्यटनको दीर्घकालीन सम्भावनामा जोड दिए । कार्यक्रममा प्रदेश सभा सदस्य रामजीप्रसाद घिमिरे, जिल्ला समन्वय समितिका प्रमुख जीवनारायण कोइराला, शितगंगा नगरपालिकाका प्रमुख छविलाल पौडेल लगायतले धारणा राखेका थिए । समितिका अध्यक्ष फर्सबहादुर खत्रीको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको सहजीकरण हरि खनालले गरेका थिए ।