फागुन ११,२०७९ बिहीबार
काठमाण्डौ ( राष्ट्रपति पदका लागि उम्मेदवारी मनोनयन दर्ताको समय नजिकिँदै गर्दा प्रमुख दलहरूको छलफलाई तीब्रता दिएका छन् ।
कांग्रेस, माओवादी र नेकपा (एकीकृत समाजवादी) बीच पुरानो गठबन्धन ब्युँताउने गरी छलफल भइरहेको छ । सहमतिका लागि प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरूले छलफललाई तीव्र पारेका छन् ।
हिजो बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्ड र देउवासहित भएको छलफल सकारात्मक भएको बैठकपछि कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए । उनका अनुसार बिहीबार(आज) पनि छलफल गर्ने र सहमतिको खाका तयार पार्ने तयारी छ ।
प्रधानमन्त्री प्रचण्डसँगको भेटअघि कांग्रेस सभापति देउवाले हिजो एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित शीर्ष नेताहरू र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवसँग राष्ट्रपतिको चुनाव तथा उम्मेदवारवारे छलफल गरेका थिए ।
राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने बताउँदै आएको माओवादीले कांग्रेसलाई सघाउने सङ्केत गरेको छ । गएको पुस १० गते भएको समझदारीअनुसार नै राष्ट्रपति पद आफूले पाउनुपर्ने अडान राख्दै आएको अहिलेको सत्ता साझेदार दल एमालेले लचक भएर एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपति बनाउन प्रस्ताव गरेको छ । यसबारेमा हिजो प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच छलफल भएको थियो ।
प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले राष्ट्रपति चुनावको विषयमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच निरन्तर छलफल भइरहेको बताए । उम्मेदवार कसलाई बनाउने, राष्ट्रिय सहमति कायम गर्ने विषयमा छलफल कसरी अघि बढाउने भन्ने सन्दर्भमा हिजो छलफल भए पनि निष्कर्ष नआएको उनले जानकारी दिए।
यसैबीच एकीकृत समाजवादीले राष्ट्रपतिको विषयमा सबै दलसँग छलफल गर्ने निर्णय गरेको छ । राष्ट्रपति चुनावका लागि हिजो निर्वाचन आयोगले मतदाता नामावली सार्वजनिक गरिसकेको छ भने पर्सि शनिवार मनोनयन दर्ता हुनेछ । आउँदो २५ गते राष्ट्रपति चयनका लागि मतदान हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीको दोस्रो कार्यकाल आउँदो २८ गते सकिँदैछ ।