कास्की – आइतवार पोखरामा भएको यती एअरलाइन्सको विमान दुर्घटनामा परि ज्यान गुमाएकाहरुको शव आफन्तलाई बुझाउन थालिएको छ । हिजो बेलुकी पोखरा महानगरपालिका वडा नम्बर १३ का सदाकत अलि मियाँको शव परिवारले बुझेसँगै शव बुझाउने काम सुरु भएको हो ।
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा हिजो बेलुकीदेखि शव परीक्षण सुरु गरेर बुझाउन थालेको अस्पताल प्रशासनले जनाएको छ । दुर्घटनामा अहिलेसम्म फेला परेका ७० जनाको शवमध्ये २४ जनाको शवको पोखरामै परीक्षण गरी आफन्तलाई बुझाउने तयारी छ ।
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा शव परीक्षणका लागि काठमाण्डाैदेखि आएका फरेन्सिक विज्ञसहितको टोली खटिएको छ । विदेशी नागरिक, पहिचान नखुलेका र चालक दलका सदस्यको शव काठमाण्डाैको शिक्षण अस्पतालमा परीक्षण हुनेछ । ती शवलाई अहिले बिहान आठ बजे हेलिकप्टरमार्फत् काठमाण्डौ पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता ज्ञानबहादुर खड्काले जानकारी दिनुभयो ।
शव लिन हिजै नेपाली सेनाको हेलिकप्टर पोखरा पुगेको छ । पोखराको सेती खोँचमा भएको विमान दुर्घटनामा परेका ७२ जनामध्ये दुई जना यात्रुको खोजी भइरहेको प्रवक्ता खड्काले जानकारी दिनुभयो ।