काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको फेरि प्रधानमन्त्री हुने चाहना पूरा नहुने दाबी गरेका छन्।
फेरि एकपटक प्रधानमन्त्री हुनका लागि प्रचण्डले अधिकतम प्रयास गरिरहेका बेला पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीको यस्तो प्रतिक्रिया आएको हो।
एमाले प्युठान–काठमाडौं सम्पर्क मञ्चले शनिबार पार्टीको केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले समयमा कदम नचालेकाले प्रचण्डको प्रधानमन्त्री हुने इच्छा समाप्त भएजस्तो आफूले देखेको तर्क गरे।
प्रधानमन्त्री हुने इच्छा प्रचण्डले व्यक्त गरिरहेको उल्लेख गर्दै त्यस संभावनालाई समयले नै समाप्त पारिदिएको ओलीले बताए। अरूले पनि समयमा कदम नचाले देश फेरि पनि मध्यावधि निर्वाचनतर्फ धकेलिने सम्भावना समेत ओलीले औंल्याएका छन्।
‘पुष्पकमल दाहालजी जो प्रधानमन्त्रीको इच्छा गरिरहनु भएको छ तर उहाँले मलाई लाग्छ ढिलो गर्नुभयो। लिनुपर्ने कुराको, दिनुपर्ने कुराको, गर्नुपर्ने काम जेजस्ता छन्, ती समयमै गर्नुपर्दछ। भएन भने, होइन भने, समयमा कुनै काम गरिँदैन भने समयले नै त्यसको उपलब्धिलाई समाप्त पारिदिन्छ।’ ओलीले भने, ‘यदि तपाईंले आँप पाकेकै बेला टिप्नुभएन भने खान पनि पाउनु हुन्न, बेच्न पनि पाउनु हुन्न । किनभने त्यो आफैं झेरर जान्छ । त्यसको रस, त्यसको फल, त्यसको प्रतिफल, त्यसको फाइदा समयले खाइदिन्छ । त्यस्तै हुने हाे अब उहाँको सम्भावना सामान्यतः समाप्त भएजस्तो देखिन्छ । किनभने उहाँले समयमा कदम चाल्नु भएन।’
अध्यक्ष ओलीले सत्तारुढ दलहरुबीचको श्वार्थले मुलुक कमजोर बन्ने अवस्थामा पुगेको समेत दोहोर्याए । उनले एमालेलाई सिध्याउँछु भन्ने तत्वहरु आफैं समाप्त भएको जिकिर पनि गरे।