७ मंसिर २०८०, बिहीबार
काठमाडौं । नेकपा एमालेको भातृ संगठन नेविसंघ र मेडिकल व्यावसायी दुर्गा प्रसाईँले आज काठमाडौंमा शक्ति प्रदर्शन गरिरहेका छन् ।
मेडिकल व्यावसायी प्रसाईँले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानमार्फत वर्तमान शासन व्यवस्थालाई नै चुनौती दिँदै शक्ति प्रदर्शन गरिरहेका हुन् ।
त्यस्तै युवा संघ नेपालले प्रसाईँलाई काउन्टर दिन र सरकारलाई खबरदारी गर्ने उदेश्यले शक्ति प्रदर्शन गर्ने भनेको छ । तर मंसिर ७ अर्थात आज एकै दिन र स्थान तोकेरै गरिएको शक्ति प्रदर्शनलाई वर्तमान व्यवस्थाको प्रतिरक्षा र राजसंस्था फर्काउने विषयलाई केन्द्रविन्दू बनाइएको छ । माइतिघरलाई केन्द्र बनाएर भिड्ने उद्घोष गरेका प्रसाईँ पक्ष र युवासंघ नेपाल पक्षलाई सरकारले अप्रिय अटना हुन नदिन फरक फरक ठाउँ तोकिदिएको छ ।
सरकारले प्रदर्शनका लागि तोकिदिएको स्थान अनुसार युवासंघले तीनकुनेमा वृहत प्रदर्शन गरिरहेको छ । उता प्रसाईँले पनि बल्खुलाई केन्द्रविन्दू हजारौँ समर्थक सडक उतार्दैछ ।
उता एमाले निकट युवा संघले यसअघि नै राँके जुलुस निकालेर प्रदर्शन गरेको थियो । त्यस्तै आज युवासंघले प्रसाईँलाई काउन्टर दिन हजारौँ कार्यकर्ता सडकमा उतार्दैछ । प्रसाईँको जुलुस काठमाडौंको विभिन्न स्थानबाट निस्किँदैछ ।
प्रसाईँको जुलुस रुट
दुर्गा प्रसाईँ नेतृत्वको प्रदर्शनकारीहरु काठमाडौंको सात स्थानबाट जुलुस निकालिरहेका छन् । उनीहरुले उपत्यकाका तीनै काठमाडौं, लतितपुर र भक्तपुर जिल्लाबाट बल्खुमा केन्द्रित जुलुस निकालिरहेका हुन् । देशभरबाट आएका हजारौँ समर्थकहरुले नेपालको झण्डा र धार्मिक झण्डा बाहेक अन्य बोक्न नपाइँने अभियानका सहप्रवक्ता राजानन्द माण्डव्यले जनाएका छन् ।
जुलुसको अग्र स्थानमा धर्मगुरु, ओमकार परिवार र नाथलगायतलाई राखिने जनाइएको छ । प्रसाईँ समर्थक प्रदर्शनकारीहरु बिहान १० बजेपछि भक्तपुर, गोगबु, बुढानीलकण्ठ, कलंकी, सातदोबाटो, चाबहिललगायतका स्थानबाट निस्किसकेका छन् । प्रसाईँ र युवा संघ नेपालका समर्थकहरुबीच बल्खुमा झडपसमेत भएको छ ।
सुरक्षा व्यवस्था कडा
युवा संघ र प्रसाईँको आह्वानमा हुन लागेको प्रदर्शनलाई ध्यान दिँदै काठमाडौंकामा सुरक्षा व्यवस्था कडा बनाइएको छ । काठमाडांै उपत्यका भित्रिने नाकामा सुरक्षा जाँच भइरहेको भने । ट्राफिक प्रहरीको समेत सहभागितामा नाकाबाट प्रवेश गर्ने हरेक गाडीमा निगरानी र सोधपुछ भइरहेका छ । अवैधानिक तथा प्रतिबन्धित वस्तु काठमाडौ उपत्यका छिर्न नदिन एवं शङ्कास्पद व्यक्तिलाई रोक्ने उद्देश्यका साथ जाँच भइरहेको प्रहरीले जनाएको छ ।
निजी तथा सार्वजनिक तथा मालवाहक गाडीका साथै मोटरसाइकलमाथि पनि विशेष निगरानी भइरहेको छ । सहरका मुख्य चोकहरुमा पनि सुरक्षा जाँच भइरहेको छ । प्रदर्शनको सुरक्षाको पहिलो तहमा नेपाल प्रहरी खटिनेछ । सशस्त्र प्रहरी दोस्रो लहरमा हुनेछ ।
सूचना सङ्कलनका लागि राष्ट्रिय अनुसन्धान विभागसँगै दुवै प्रहरी सङ्गठनबाट सादा पोसाकका प्रहरी समेत परिचालित भइसकेका छन् । दुई पक्षको जुलुसलाई जम्काभेट र घुसपैठ हुन नदिन ड्रोनको समेत व्यवस्था गरिएको प्रहरीले जनाएको छ ।