
काठमाडौं- काठमाण्डौंको थापाथलीस्थित प्रसूति गृहबाट हराएको शिशु काँडाघारीमा फेला परेको छ । शिशु चोरीको आरोपमा तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा दैलेख घर भई काठमाडौँको काँडाघारीमा डेरा गरी बस्ने २४ वर्षीय मानकुमारी सिंहसहित अन्य दुई जना रहेका छन् । महिलाकी दिदी र श्रीमानलाई समेत नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको केन्द्रिय प्रहरी प्रवक्ता नेपाल प्रहरी नायव महानिरीक्षक भीम ढकालले जानकारी दिनुभयो ।
गएराति काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काँडाघारीबाट बालिकालाई उद्धार गरी उनीहरूलाई पक्राउ गरेको हो ।
विवाह गरेको लामो समयसम्म पनि सन्तान नभएपछि मानकुमारीले शिशु चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । बालिकाको उद्धारपछि अस्पतालमा प्रारम्भिक उपचार गरी परिवारको जिम्मा लगाइएको छ ।
काभ्रेको चौरीदेउराली गाउँपालिका–३ घर भएर कपन बस्ने २२ वर्षीया सविना श्रेष्ठको बच्चा शुक्रबार अपरिचित महिलाले चोरेर भागेकी थिइन् । सहयोगको बहाना बनाएर अपरिचित महिलाले बच्चा चोरेर भागेको सविनाले बताएपछि प्रहरीले खोजी थालेको थियो । रातो कुर्ता, सुरुवाल र कालो मास्क लगाएकी महिलाले बच्चा बोकेर हिँडेको सिसिटिभीमा देखिएको थियो ।