१० श्रावण २०८०, बुधबार
कलैया:- नेपाली कांग्रेसका जिल्ला सचिवमाथि प्रहरीले गरेको कुटपिटविरुद्ध आन्दोलनमा होमिएका बाराका प्रमुख राजनीतिक दलहरुले आज कलैया बजार बन्द गराएका छन् ।
कांग्रेस जिल्ला सचिव भैयाराम यादवलाई गत साउन २ गते जिल्ला प्रहरी कार्यालयभित्रै प्रहरी नायब उपरीक्षक पुरुषोत्तमप्रसाद पाण्डे र प्रहरी निरीक्षक रुपेश साहले कुटपिट गरेको भन्दै नेता, कार्यकर्ता आन्दोलित बनेका हुन् ।
कुटपिटपछि बुधबारदेखि दिनहु प्रहरीविरुद्ध आन्दोलन तथा प्रदर्शन गर्दै आएका नेता तथा कार्यकर्ताले आज बजार बन्द गराएका हुन् । तीन साताअघि महागढीमाई नगरपालिका-७ बेनौलीका सुनील यादवलाई कलैया बघवन सडक खण्डमा पिकअप भ्यानले ठक्कर दिएर घाइते बनाएपछि अस्पताल भर्ना भएका यादवलाई पीडकबाट उपचार खर्च दिलाउने विषयमा कांग्रेस सचिव भैयाराम प्रहरी कार्यालय पुगेका थिए।
छलफलकै क्रममा प्रहरीसँग भनाभन परेपछि उनीमाथि निर्घात कुटपिट भएको थियो । प्रहरी नायब उपरीक्षक पुरुषोत्तम प्रसाद पाण्डे र प्रहरी निरीक्षक रुपेश साहले अपशब्द बोल्दै कुटपिट गर्दा उनको शरीरका विभिन्न ठाउँमा चोट लागेको छ । सोही घटनालाई लिएर नेपाली कांग्रेसले सर्वदलीय बैठक बोलाएर दोषीमाथि कारबाहीको माग गर्दै एक सातादेखि विरोध प्रदर्शन गर्दै आएको छ ।