
नेपालगन्ज, माघ १३ गते । नेपाल पत्रकार महासंघ बाँकेले नेपालगन्ज उद्योग वाणिज्य संघलाई पत्रकारमाथि दुर्व्यवहार नगर्न आग्रह गरेको छ ।
पत्रकार महासंघ बाँकेका सचिव कृष्ण ओलीद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा वाणिज्य संघलाई पत्रकारमाथि दुर्व्यवहार नगर्न भन्दै ध्यानाकर्षण समेत गराइएको छ ।
सचिव ओलीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपालगन्ज उद्योग वाणिज्य संघको मुख्य आयोजनामा नेपालगन्जमा जारी ‘प्रादेशिक महोत्सव २०८१’ मा पत्रकारहरुको सहज प्रवेश, पहुँच र रिपोर्टिङमैत्री वातावरणका लागि नेपाल पत्रकार महासंघ बाँके शाखाले चासो व्यक्त गर्दै आइरहेको सर्वविदितै छ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘त्यस अनुरुप नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष, प्रवक्ता लगायत जिम्मेवार पदाधिकारीबाट प्रतिबद्धता व्यक्त भएको र मिडियाको परिचयपत्रबाट महोत्सवस्थलभित्र प्रवेश गर्न मिल्ने प्रबन्ध गरिएको जानकारी आयोजकले गराइसकेको अवस्थामा पनि महोत्सवस्थलभित्र प्रवेश गर्दा भइरहेको अनावश्यक उल्झन र असहजताप्रति नेपाल पत्रकार महासंघ बाँके शाखाको गम्भीर ध्यानाकर्षण भएको छ ।
यसै क्रममा माघ १२ गते शनिबारका दिन मञ्च परिसरमा सांगीतिक कार्यक्रमको फोटो खिच्ने र भिडियो छायाँकन गरिरहेको अवस्थामा न्यूजबाँके अनलाइन मिडियामा कार्यरत पत्रकार टार्जन ओलीमाथि आफ्नो परिचयपत्र देखाउँदा देखाउँदै आयोजक स्वयं र सुरक्षाकर्मीबाट भएको दुव्र्यवहारको घटनाप्रति नेपाल पत्रकार महासंघ बाँके शाखा खेद व्यक्त गर्दछ । यस्ता घटना नदोहोर्याउन महोत्सव आयोजकलाई सचेत समेत गराउँदछौँ ।’ सचिव ओलीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
महासंघले पत्रकारहरुलाई आफू कार्यरत मिडियाबाट जारी भएको परिचयपत्रबाटै सहज प्रवेश र रिपोर्टिङ गर्ने अवस्था मिलाई प्रेसमैत्री वातावरण निर्माणका लागि वाणिज्य संघलाई ध्यानाकर्षण गराएको छ । साथै रिपोर्टिङका क्रममा सम्पूर्ण पत्रकारहरुलाई पत्रकार आचारसंहिताको पूर्णरुपमा पालना गर्दै मर्यादित रुपमा पत्रकारिता गर्न समेत आग्रह गरेको छ ।
त्यसैगरी पत्रकार टार्जन वलीमाथि भएको दुर्व्यवहारको घटनाप्रति प्रेस चौतारी नेपाल बाँके र नेपाल प्रेस युनियन बाँकेले पनि गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
चौतारी बाँकेका सचिव देवेन्द्रराज पौडेलले समाचार संकलनको विषयलाई लिएर पत्रकार ओलीमाथि भएको दुर्व्यवहारको घटनाको भत्सर्ना गर्दै फेरि पनि यस्ता घटना दोहोरिन नदिन र पत्रकारहरुलाई निर्वाध समाचार संकलनको वातावरण बनाउन नेपालगन्ज उद्योग वाणिज्य संघको ध्यानाकर्षण गराएका छन् ।
नेपाल प्रेस युनियन बाँकेका सचिव भिष्म लोधले घटनाको भत्सर्ना गर्दै फेरि पनि यस्ता घटना दोहोरिन नदिन र पत्रकारहरुलाई निर्वाध समाचार संकलनको वातावरण बनाउन नेपालगन्ज उद्योग वाणिज्य संघको ध्यानाकर्षण गराएका छन् ।

