१४ मंसिर २०८१,शुक्रबार
दाङ ।दाङको तुही उपत्यका फूलबारीमा रहेको खेतीयोग्य जमिनमा सिंचाई सुविधा पुर्याउन दुईवटा कृत्रिम सिंचाई जलाशय निर्माण हुने भएका छन ।बृहत दाङ सिंचाई आयोजना अन्तर्गत जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नं.१३ को रनियापुरमा पूर्व फूलबारी र पश्चिम फूलबारी सिंचाई जलाशय निर्माण हुन लागेका हुन ।
दुवै सिंचाई आयोजनाको शुक्रबार पूर्व सिंचाई मन्त्री एंव दाङ क्षेत्र नं.३ का संघीय सांसद दीपक गिरीले एक कार्यक्रमका बीच शिलान्यास गरेका छन ।कार्यक्रममा बोल्दै सांसद गिरीले जलाशय निर्माण पश्चात यहाँको कृषि उत्पादनमा बृद्धि हुने र कृषकहरुको जीवनस्तरमा अभिबृद्धि हुने विश्वास व्यक्त गरे ।उनले कृषि उपजका लागि दाङ उर्वर भूमि भएकाले जिल्लाका सबै खेतीयोग्य जमिनमा सिंचाई सुविधा पुर्याउनका लागि कटिबद्ध भएर लाग्ने बताए ।
गिरीले जलाशय निर्माण गर्दा बजेट अभाव भएमा आफूले पहलकदमी लिने प्रतिबद्धता समेत जनाए ।तपाईहरु ढुक्क हुनुहोस् सांसद गिरीले भने,‘यी सिंचाई योजनाको निर्माण कार्य सम्पन्न गर्ने जिम्मा मेरो पनि हो,योजना सम्पन्न गर्ने क्रममा बजेट अभाव भएमा मैले पहल गर्ने छु,कदमकदाचि तलमाथि भयो भने,सांसद विकास कोषको बजेट मार्फत यी योजना सम्पन्न गर्ने छु ।’
मूलतःफूलबारी उपत्यका धान,मकै,गहुँ उत्पादनका लागि राम्रो क्षेत्र मानिन्छ।तर विगत लामो समयदेखि यहाँका किसानहरु खेती गर्नका लागि आकाशे पानीको भर पर्नु पर्ने बाध्यता रहेको छ ।जसको कारण वर्षेनि कृषि उत्पादमा ह्रास आइरहेको छ । सिंचाई अभावकै कारण खेतीयोग्य जमिन बाँझो छोड्ने क्रममा पनि बढ्दो छ । यी दुई सिंचाई आयोजना निर्माण भएमा किसानलाई थप राहत मिल्ने छ ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नं.१३ का वडाध्यक्ष मोहन पौडेलले वडाको सबै खेतीयोग्य जमिनमा सिंचाई आवश्यक पर्ने जलाशय निर्माणका लागि आवश्यक पहल भईरहेको बताए ।उनले वडाको पूर्वी र पश्चिम भेगमा जलाशय निर्माण गरी सिंचाई सुविधा उपलब्ध गराउन दाङ बृहत सिंचाई आयोजनासंग समन्वय र प्रक्रिया अघि बढाईएको बताए ।
दाङ वृहत्त सिंचाई आयोजनाका प्रमुख टोपेन्द्र बहादुर खत्रीले सिंचाईको अभावमा यहाँका कृषकहरुले कृषि उत्पादमा भोग्नु परिरहेको समस्यालाई मध्यनजर गर्दै जलाधार स्थानको पहिचान गरी सिंचाई जलाशय निर्माण गर्न लागिएको बताए ।उनले तुही उपत्यकामा रहेका जलाधार क्षेत्रको पहिचान गरी यहाँको सुख्खा जमिनमा सिंचाई पुर्याउन बृहत्त दाङ उपत्यका सिंचाई आयोजनाले जलाशय निर्माणलाई प्राथमिकतामा राखेको बताए ।
८० विगाह जमिनलाई सिंचाई पुर्याउने लक्ष्य
बृहत्त दाङ उपत्यका सिंचाई आयोजना अन्तर्गत निर्माण हुन लागेका ती सिंचाई जलाशयबाट करिब ६० विगाह खेतीयोग्य जमिनमा सिंचाई सुविधा पुग्ने अपेक्षा लिइएको छ ।पश्चिम फूलबारी सिंचाई जलाशय उपभोक्ता निर्माण समितिका अध्यक्ष हुम बहादुर नेपालीका अनुसार बृहत्त दाङ सिंचाई आयोजना मार्फत आ.व. २०८०/०८१ मा विनियोजित ५ लाख र आ.व.२०८१/०८२ मा विनियोजित २५ लाख वजेटमा पश्चिम तर्फको योजना निर्माण हुन लागेको बताए ।
त्यस बाहेक अरु वजेट जलाशय निर्माण सम्पन्न गर्दासम्म लाग्ने लागतको आधारमा व्यवस्थानपन हुने निर्माण समितिका अध्यक्ष नेपालीले बताए ।त्यस्तै पूर्वी सिंचाई जलाशय निर्माणका लागि पनि २५ लाख बजेटको व्यवस्था उपभोक्ता निर्माण समितिका अध्यक्ष कमारा खत्रीले बताए ।दुवै सिंचाई योजनाबाट ४०—४० विगाह खेती योग्य जमिनमा सिंचाई पुर्याउने लक्ष्य राखिएको छ।जलाशयको निर्माण कार्य भने आउँदो आइतबारबाट सुचारु हुनेछ ।