२६ फाल्गुन २०७९, शुक्रबार
प्रदिप गुप्ता
बर्दिया – बर्दियाको ठाकुरबाबामा शनिवार (भोली)वृत्ति मार्ग निर्देशन तथा रोजगार मेला सञ्चालन हुने भएको छ।
रोजगारीको खोजीमा रहेका युवा जनशक्ति र रोजगारदातालाई एकै ठाउँमा सहभागी गराई आ–आफ्नो आवश्यकताअनुसारको जनशक्ति खोज्न र रोज्न सहयोग पुर्याउनका लागि बर्दियाको ठाकुरबाबा नगरपालिकाले वृत्ति मार्ग निर्देशन तथा रोजगार मेलाको आयोजना गरिएको हो।
नगरपालिका स्थापना भएको अवसरमा मार्ग निर्देशन तथा रोजगार मेलाको आयोजना गरिएको ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलकराम लम्सालले जानकारी दिए।
मेलासंगै वृहत् रक्तदान कार्यक्रमको समेत आयोजना गरिएको नगर प्रमुख लम्सालले बताए।
नेपाल सरकारको समृद्ध नेपाल, सुखी नेपाली र पाँच लाख युवालाई रोजगारी उपलब्ध गराउने लक्ष्यलाई सहयोग पुर्याउने उद्देश्य सहित समुन्नत ठाकुरबाबा, सबल नगरवासी नारासहित नगरभित्रका जनशक्तिलई स्थानीय उद्योग, व्यवसाय, बैंकिङ, पर्यटन, होटल व्यवसाय लगायतका क्षेत्रमा रोजगार उपलब्ध गराउन सहयोग पुर्याउने उद्धेश्य अनुरुप मेलाको आयोजना गरिएको उप—प्रमुख बिनाकुमारी भट्टराइले जानकारी दिइन्।
मेला दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजनामा स्विट्जरल्यान्ड सरकार विकास सहयोगको तर्फबाट हेल्भेटास नेपालको प्राविधिक सहयोगमा आयोजना गरिएको मेलामा करिब १५ सय जनालाई सहभागिता गराउने लक्ष्य लिएको उनले बताइन्।
श्रम शक्तिलाई गुणस्तरीय बनाउँदै, श्रमिकहरूको सीप र क्षमता अभिवृद्धि गर्दै, युवाहरूको कामलाई सम्मान गर्ने संस्कृतिको विकास गर्न तथा श्रम बजारमा उनीहरूको माग र सम्मान वृद्धि गर्न मेला आयोजना गरिएको हो।
स्थानीय बेरोजगार युवाहरूलाई सीप सिक्न अभिप्रेरित गर्ने, रोजगारीका अवसर सिर्जना गर्ने र रोजगारीकै लागि युवा शक्तिलाई विदेशिनु पर्ने बाध्यताको अन्त्य गर्न मेलाले सहयोग पुराउने अपेक्षा लिइएको उप प्रमुख भट्टराईले बताईन।
प्राविधिक, प्रशासनिक क्षेत्रका व्यक्तिका साथै श्रमिक वर्गको समेत सहभागिता रहने मेलामा उद्योग, व्यवसाय लगायत अन्य विभिन्न क्षेत्रका रोजगारदाताहरूको पनि प्रतिनिधित्व हुनेछ।
यो कार्यक्रम हेल्भेटास नेपालको प्राविधिक सहयोगमा बर्दियाको ठाकुरबाबा नगरपालिका सहित लुम्बिनी प्रदेशका ११ वटा जिल्लाका पालिकामा सुरु भएको छ ।