५ साउन २०८० शुक्रबार
नेपालगञ्ज— बाँकेमा प्रहरीले गाँजा खेती नष्ट गर्ने अभियान सुरु गरेको छ।
गाँजामुक्त जिल्ला बनाउने उद्धेश्यका साथ गाँजा खेती नष्ट गर्ने अभियान सुरु गरिएको हो।
जसअन्तर्गत बैजनाथ गाउँपालिका वडा नं.— ८ झिगौला गाउँस्थित मानखोलाको नदी किनारमा उम्रिएका गाँजाका बोटहरु प्रहरी र स्थानिय बासिन्दाको सक्रियतामा नष्ट गरिएको छ ।
केही समय अघि प्राकृतिक रुपमा उम्रिएका गाँजाका बोटहरु लागूऔषध दुर्व्यसन जस्ता कार्यमा प्रयोग भइरहेको छ भन्ने सूचनाका आधारमा नष्ट गरिएको रनियापुर प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक लखनलाल चौधरीले जानकारी दिए।
उनका अनुसार करिब ३ सय गाँजाका बोटहरु प्रहरी र स्थानिय बासिन्दाको सहयोगमा नष्ट गरिएको हो। बाहिरबाट समेत मानिसहरु आएर दिनानुदिन गाँजाको प्रयोग गर्ने क्रम बढ्न थालेपछि स्थानियले प्रहरीलाई खबर गरेको र सोही आधारमा गाँजाका बोटहरु नष्ट गरिएको चौधरीले बताए।
त्यस स्थानमा स्वस्फूर्त रुपमा गाँजाका बोटहरु उम्रिएर झाडी बनेको थियो।जसका कारण युवाहरुले गाँजाको सेवन गर्ने सम्भावना निकै भएकाले त्यसलाई मध्यनजर गर्दै सबै गाँजाका बोटहरु नष्ट गरिएको चौधरीले बताए।
समाजमा विकृति ल्याउने कारक मध्ये गाँजा पनि एक रहेको बताउदै चौरीले लागूऔषध नियन्त्रण तथा उन्मूलन गर्नका लागि प्रहरी र स्थानीय सँगसँगै मिलेर अगाडि बढिरहेको बताए ।