२६पौष २०७९ मंगलबार
हेटौंडा : बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्कट्टेलले शपथग्रहण गरेका छन्।
सोमबार बागमती प्रदेशको चौथो मुख्यमन्त्रीमा नियुक्त भएका जम्कट्टेललाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज मंगलबार शपथग्रहण गराएका हुन्।
मुख्यमन्त्री जम्कट्टेलले शपथग्रहणलगत्तै दुई सदस्यीय मन्त्रिपरिषद् पनि विस्तार गरेका छन्। मुख्यमन्त्रीसँगै नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया र राप्रपा संसदीय दलका नेता उद्वव थापाले पनि पद तथा गोपनियताको शपथ लिएका छन्।
जम्कट्टेलले थपलियालाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ। राप्रपाका थापालाई कुनै पनि मन्त्रालयको जिम्मेवारी दिइएको छैन। उनी बिना विभागीय मन्त्री बनेका छन्।
सुरुमा सानो मन्त्रिमण्डल बनाएका मुख्यमन्त्री जम्कट्टेलले आफूलाई समर्थन गरेको दलहरुसँगको छलफलपछि मन्त्रिमण्डललाई पुर्णता दिने जनाएका छन्। जम्कट्टेलले सत्ता गठबन्धनको ३ सहित ५ दलको ७० जना सांसदको समर्थनमा मुख्यमन्त्री बनेका छन्।
उनलाई दलहरूबीच भागबण्डा मिलाउन सहज छैन। सत्ता गठबन्धनको एमाले, माओवादी र राप्रपासँगै नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीको समर्थन उनलाई छ।
एमालेले ५, माओवादीले ४, राप्रपा र समाजवादीले २–२ र हाम्रो नेपाली पार्टीले १ गरि १४ मन्त्रालयमा दावी गरेका छन्।
मुख्यमन्त्री जम्कट्टेलले १४ वटा मन्त्रालय कटौती गरेर घटीमा ९ र बढीमा ११ कायम गर्ने बताएका छन्।
एमालेले पनि मन्त्रालयको संख्या ८ मा झार्नुपर्ने बताएको थियो। कांग्रेस नेतृत्वको गठबन्धनले बागमती प्रदेशमा सरकार बनाउँदा मुख्यमन्त्री राजेन्द्र पाण्डेले गठबन्धनमा भागबण्डा पु¥याउनकै लागि ८ मन्त्रालयलाई १४ वटा बनाएका थिए।
३ वटा दलको समर्थनमा मुख्यमन्त्री बनेका पाण्डेले भागबण्डा पुर्याउन १४ वटा मन्त्रालय बनाएको भन्दै विरोध गरेका ५ दल मिलेर हाल सरकार बनेको छ। मुख्यमन्त्री जम्कट्टेललाई मन्त्रालय कटौती गर्दै ५ दलमा भागबण्डा मिलाउन सकस पर्ने देखिन्छ।