माघ १६,२०७९ सोमबार
बाँके । बाँकेमा एक युवकले पेट्रोल छर्किएर आगो लगाउँदा उनका दुई वर्षीय छोराको मृत्यु भएको छ । कोहलपुर नगरपालिका वडा नम्बर २ शक्तिनगरका वर्ष ३० का भानुभक्त विकले आइतबार बेलुका श्रीमती गंगा र छोरा प्रिन्सलार्य पेट्रोल छर्किएर आगो लगाएका थिए ।
जलेर गम्भीर घाइते भएका दुई वर्षीय प्रिन्सको भेरी अस्पताल नेपालगञ्जमा उपचारको क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीमगरले जानकारी दिए । श्रीमती गंगा भने घाइते छिन् ।
श्रीमती र छोरालाई आगो लगाएर वि.क.भारततर्फ भागेका थिए । तर उनलाई प्रहरीले गएराति साढे १ बजे भारतको नानपाराबाट नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाएको छ ।
बच्चाको कम्मरभन्दा माथिको भाग जलेको थियो । श्रीमती गंगाको पनि घाँटी, हात, कान लगायतका भाग जलेको छ । प्रहरीका अनुसार गंगाको शरीरको करिब २० प्रतिशत भाग जलेको छ ।
घटनाबारे जानकारी पाएलगत्तै वडा अध्यक्ष हरि कठायत र उपमेयर सुवेदीले कोहलपुर नगरपालिकाको एम्बुलेन्सबाट उनीहरुलाई सुरुमा नेपालगञ्ज मेडिकल कलेज पुर्याएका थिए । त्यहाँ उपचार सम्भव नहुने भएपछि नेपालगञ्जस्थित भेरी अस्पताल लगिएको थियो ।