३ चैत्र २०७९, शुक्रबार
काठमाडौं ।बैंक तथा वित्तीय संस्थाका कर्मचारी माथि पछिल्लो समय एकपछि अर्को गरी आक्रमण हुन थालेपछि यस क्षेत्रका छाता संस्थाले दोषीलाई कारबाहीको माग गरेका छन्। नेपाल बैंकर्स सङ्घ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल, नेपाल वित्तीय संस्था सङ्घ र नेपाल लघुवित्त बैंकर्स सङ्घले शुक्रबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै दोषीमाथि कारबाहीको र सुरक्षा प्रत्याभूतिको माग गरेका हुन।
पछिल्लो समय केही व्यक्ति तथा समूहले बैंक, वित्तीय संस्था तथा लघुवित्त संस्थाका कर्मचारीहरुलाई धम्कीपूर्ण अभिव्यक्ति दिने,अराजक व्यवहार र साङ्घातिक आक्रमण गर्ने गरेको भन्दै यी संस्थाहरुले विरोध जनाएका छन्।
जाजरकोट, मकवानपुर, म्याग्दी, सुनसरी, उदयपुर, कपिलवस्तु, रुपन्देही, कास्की लगायतका क्षेत्रमा कार्यरत कर्मचारी माथि धरपकड, साङ्घातिक हमला, कार्यालयमा भएको तालाबन्दी प्रति ति संस्थाहरुले आपत्ति जनाएका छन् ।उनीहरुले घटनामा संलग्न दोषीलाई यथाशीघ्र हदैसम्मको कारबाहीको माग समेत गरेका छन् ।
अराजक र उत्तेजक अभिव्यक्ति दिएर यसप्रकारका घटना प्रोत्साहन गर्नेलाई कानुनी दायरामा ल्याउन पनि यी संस्थाले संयुक्तरुपमा माग गरेका छन् । साथै यसप्रकारका घटना नरोकिएसम्म र कर्मचारीको सुरक्षाको प्रत्याभूति नहुन्जेलसम्म बैंकिङ सेवा नै सञ्चालन गर्न नसक्ने अवस्था रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।
“यसप्रकारका क्रियाकलाप कसैको हितमा नहुने, असहज वातावरण सिर्जना गर्ने, सामाजिक सहिष्णुता खलल पुर्याउने, आर्थिक गतिविधिमासमेत नकारात्मक असर पार्ने र अन्ततः अर्थतन्त्र नै धराशायी हुनसक्ने भएकाले यसप्रति सजग रहन आग्रह गर्दछौँ । यस्ता गैरजिम्मेवार क्रियाकलापको आडमा जबर्जस्ती कानुन आफ्नो हातमा लिई भइरहेका अराजक घटनालाई समयमै नियन्त्रण गर्न राज्यका सम्बन्धित निकायहरुसँग अनुरोध गर्दछौँ”, संयुक्त विज्ञप्तिमा भनिएको छ ।
अत्यावश्यक र संवेदनशील क्षेत्रका रुपमा रहेको बैंकिङ क्षेत्रमाथि साङ्घातिक आक्रमण हुन थालेपछि कर्मचारी चिन्तित र आतङ्कित बनेको पनि विज्ञप्तिमा जनाइएको छ । यस्ता घटना बढ्दै जाने हो भने समग्र बैंकिङ क्षेत्रको मनोबल खस्किने र यसले अर्थतन्त्रलाई समेत सङ्कटमा पार्ने उनीहरुको भनाइ छ ।