९ श्रावण २०८० मंगलबार
बुटवलः—गएराति देखि परेको अविरल वर्षाका कारण लुम्बिनी प्रदेशका विभिन्न पहाडी जिल्लाहरुमा पहिरोले सडक अवरुद्ध भएका छन् । पहिरोका कारण बुटवल–पाल्पा, कपिलवस्तु–अर्घाखाँची तथा प्यूठानका मुख्य सडक अवरुद्ध भएका छन् ।
सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडकखण्ड पहिरोले एकतर्फी मात्रै सञ्चालन भएको छ । बुटवल–पाल्पा सडक अन्तरगत सिद्धबाबा, झुम्सा, गौडे पुल लगायतका ठाउँमा पहिरोले अवरुद्ध भएपछि खुलाउने प्रयास जारी रहेको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ । उक्त स्थानमा अहिले एकतर्फी सडक सञ्चालन भएको छ भने कपिलवस्तुको गोरुसिंगे सन्धिखर्क जोड्ने सडक अवरुद्ध भएको छ । सितगँगा नगरपालिका–२ भुवनपाटामा पहिरोका कारण सडक अवरुद्ध भएको छ ।
यसैगरी गुल्मीका रुद्रवेणी–सत्यवतीको सडक पहिरोले अवरुद्ध बनेको छ । यससँगै पहाडी जिल्लाका विभिन्न ठाउँहरुमा पहिरोका कारण भित्री सडकहरु अवरुद्ध भएका छन् । त्यस्तै, पहिरोले कालिगण्डकी करिडोर अन्तर्गत राम्दी–रामपुर सडकखण्ड पनि अवरुद्ध भएको छ । पाल्पाको रम्भा गाउँपालिका १ चाँदी खोलामा सडक माथिबाट लेदोसहितको पहिरो झरेपछि सडक अवरुद्ध भएको हो ।
प्युठानको माण्डवी गाउँपालिका १ गर्जेनीमा सडक माथिबाट लेदो र ढुङ्गा सहितको पहिरो झरेपछि भालुबाङ–प्युठान सडक खण्ड अवरुद्ध भएको छ । सवारी सञ्चालनका लागि पहिरो हटाउने काम भइरहेको प्रहरीले जनाएको छ ।