अरुणकुमार नेपाली
३२ श्रावण २०८०
दाङ—नेपाल विद्यालय कर्मचारी परिषदको जिल्ला भेला यहि भदौ २ गते हुने भएको छ ।देउखुरीको लमही स्थित आदर्श मा.वि.मा विशेष जिल्ला भेला आव्हान गरिएको नेपाल विद्यालय कर्मचारी परिषदका दाङ जिल्ला अध्यक्ष तप्त प्रसाद शर्माले जानकारी दिए।
नेपाल विद्यालय कर्मचारी परिषदले विगतमा आफ्ना माग सम्बोधनका लागि गरेको आन्दोलन,मन्त्री परिषदबाट स्वीकृत भएको प्रस्तावित संघीय शिक्षा ऐन र उक्त ऐनको विरोधमा नेपाल शिक्षक महासंघको नेतृत्वमा हाल भइरहेको आन्दोलनको विषयमा गम्भिर समिक्षा गर्न भेला आव्हान गरिएको अध्यक्ष शर्माले बताए ।भेलामा परिषदको भावी कार्यक्रम र रणनीतिका विषयमा समेत छलफल गरिने उनले बताए ।
यसै बीच परिषदले जिल्लामा सामुदायिक विद्यालयमा कार्यरत सहायक कर्मचारी(लेखापाल) र कार्यालय सहयोगिको एकिन तथ्याङ्क संकलन गर्ने र सोही बमोजिम केन्द्रमा पठाउने समेत अध्यक्ष शर्माले बताए ।
जिल्ला भेलालाई नेपाल विद्यालय कर्मचारी परिषदका उपमहासचिव डम्बर बहादुर वली,केन्द्रिय सदस्य मित्रलाल,लुम्बिनी प्रदेशका अध्यक्ष गोबिन्द जिसी लगायतले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।परिषदले उक्त भेलामा अनिवार्य उपस्थितका लागि सबै कर्मचारीहरुलाई आग्रह समेत गरेको छ ।