२५ असार २०८०, सोमबार
काठमाडौं :- नेपाली कांग्रेसकी सांसद आरजु राणाले नक्कली भूटानी शरणार्थी प्रकरणमा आफूलाई रकम दिइएको भन्ने अडियो योजनावद्ध रुपमा रेकर्ड गरिएको बताएकी छिन्।
सोमबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद राणाले आफूलाई रकम दिइएको कुरा अडियोमा योजनावद्ध रुपमा रेकर्ड गरिएको बताएकी हुन्। आरोपितहरूले अदालतमा दिएको बयानमा समेत योजनावद्ध रुपमा रेकर्ड गरेको उल्लेख रहेको भन्दै उनले आफूलाई फसाउने गलत नियतले अडियो बाहिर ल्याइएको बताइन्। उनले नेपाल प्रहरीले तथ्यहिन अडियोलाई प्रेसमा ल्याएको भन्दै असन्तुष्टि व्यक्त गरिन्।
‘त्यो मान्छे केशमा मुछिएकै मान्छे हो। तर उसले जे भनेको छ, त्यो चाहीँ गलत भनेको र उसले आफै पनि स्वीकार गरेको छ कि दुईवटा मान्छेको नाम लिएको छ, एकजना बुढाथोकी र एकजना रेग्मी भन्नेले यो योजनामा मलाई यसो यसो भन भनेर मैले भनेको हो। म उहाँलाई चिन्दिनँ भन्ने उहाँले प्रहरीमा पनि त्यही बयान दिनुभएको छ। र अदालतमा पनि त्यही बयान दिनुभएको छ। अर्कोकुरा मेरो प्रश्नचिन्ह, प्रहरीकोमा भएको टेप जुन ४ गते नै त्यो मान्छेले म उहाँलाई चिन्दिनँ भनेर वैशाख ४ गते उसको बयान रेकर्ड भएको रहेछ। त्यो पनि अदालतमा दिएको डकुमेन्टमा साबित छ। ४ गते उसले म चिन्दिनँ भनेको टेप १६ गते कसरी प्रहरीबाट बाहिर आयो ?’, उनले भनिन्, ‘यो मेरो लागि पनि ठूलो प्रश्न हो। भोली कसैलाई साजिसमा फसाउने हो भने यो गलत हो भन्ने थाहा पाउँदा पाउँदै किन बाहिर प्रेसमा लिक भयो भन्ने कुरा प्रश्न चिन्ह मेरो मनमा छ। मैले बाहिर आउनुपर्छ भनेको कुरा त कसले बोलेको पो बाहिर आउनुपर्छ भनेको हो। जब उनीहरूलाई थाहा थियो कि यसमा तथ्य छैन भनेर। त्यो किन बाहिर आयो ? तथ्य होइन भनेको कुरालाई किन बाहिर ल्याइयो ?’
उनले अमरेशकुमार सिंह विरुद्ध आफूले मानहानीको मुद्दा दर्ता गराएको प्रसंग निकाल्दै आफूमाथि लगाइएको आरोपहरू पुष्टि गर्न चुनौती समेत दिइन्।