१६ असोज २०८० मंगलबा
बझाङ – मङ्गलवार गएको भूकम्पका कारण बझाङमा एक जना बेपत्ता भएका छन् भने १७ जना घाइते भएका छन् ।
जयपृथ्वी नगरपालिका–११ मा घर नजिकै टिमुर टिप्न गएकी ४५ वर्षीया गुनमति धामी पहिरोमा परी वेपत्ता भएको बताइएको छ ।उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । जिल्लाका विभिन्न पालिकामा गरी १७ जना घाइते भएका विवरण प्राप्त भएको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जानकारी दिए । उनीहरूमध्ये तीन जना प्राथमिक उपचारपछि घर फर्किएका छन् भने बाँकीमध्ये केहीको जिल्ला अस्पताल र केहीको नजिकका स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।
भूकम्पका कारण ३१ वटा निजी घर र केही विद्यालय, स्वास्थ्य केन्द्र लगायतका सामुदायिक भवनहरू भत्किएका छन् । भूकम्पका कारण पहिरो गएपछि अवरुद्ध बनेको जयपृथ्वी राजमार्ग खुलाउने काम अन्तिम चरणमा पुगेको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए ।
यसैबीच भूकम्पपछि जिल्ला अस्पताल बझाङका स्वास्थ्यकर्मीले एक महिलालाई अस्पतालको चौरमा सुत्केरी गराएका छन् । दिउँसो सुत्केरी हुन जिल्ला अस्पताल बझाङ पुगेकी तलकोट गाउँपालिका १ गोथीचौरकी २० वर्षकी मनिषा ऐडीले ३ बजेर २५ मिनेटमा बच्चालाई जन्म दिएको जिल्ला अस्पताल बझाङले जनाएको छ । आमा र शिशुको अवस्था सामान्य रहेको छ ।