३१ जेठ २०८० बुधबार
काठमाडौ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार नियन्त्रणमा कुनै सम्झौता नहुने स्पष्ट पारेका छन । नेकपा (माओवादी केन्द्र) का दिवङ्गत नेता डिआर पौडेलको चौथों स्मृति दिवसका सन्दर्भमा माओवादी पार्टी कार्यालय पेरिसडाँडामा बुधबार आयोजित स्मृति कार्यक्रममा प्रचण्डले भ्रष्टाचार विरुद्ध सरकार कठोर रुपमा प्रस्तुत भएको भन्दै कुनै पनि प्रकारको सम्झौता नगरिने स्पष्ट पारेका हुन ।
उनले सरकार आफ्ना लागि ठूलो कुरा नभएको र ठूलो कुरा सुशासन भएको जिकिर गरे । सुशासन कायम गर्ने आफ्नो लक्ष्यमा कुनै आशंका नगर्न उनले आग्रह गरेका छन ।
माओवादी अध्यक्ष समेत रहेका प्रचण्डले नयाँ परिस्थितिमा कम्युनिस्ट आन्दोलन अगाडि बढाउन माजवादी मोर्चा बनाउन लागिएको जानकारी दिएका छन । अहिले बिभिन्न आन्दोलनका उपलब्धिहरूमाथि प्रहार भइरहेको र लोकतान्त्रिक भनिएका शक्तिहरू अलोकतान्त्रिक र निकृष्ट व्यवहारमा उत्रिएको भन्दै प्रचण्डले यसका विरूद्ध संघर्ष गर्दै आन्दोलनका उपलब्धिहरूको रक्षा गर्ने जिम्मेवारी माओवादीको काँधमा रहेको जिकिर गरेका छन ।
उनले डिआर पौडेलको आकस्मिक निधनबाट पार्टीलाई अपुरणीय क्षति भएको बताए । कार्यक्रममा प्रचण्ड लगाएत माओवादी नेताहरुले डिआर पौडेलप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए ।