
पश्चिम नवलपरासी – नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले नेपालमा भ्रष्ट्राचार नियन्त्रण नहुँदा जनतामा निराशा छाएको बताउनुभएको छ ।
पश्चिम नवलपरासीको सुनवलमा नेपाली काँग्रेसको प्रदेश सभा क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दे थापाले जनतामा छाएको निराशाको छिटो भन्दा छिटो सम्बोधन गर्नुपर्ने बताउनुभयो । नेताहरू भ्रष्ट्राचारमा डुबे भन्ने जनमानसमा परेको बताउँदै सबै काण्डहरूको निष्पक्ष छानबिन हुनुपर्ने थापाको भनाई छ ।
सरकारका नियामक निकायहरूको अनुसन्धानलाई विश्वास नगर्ने हो भने संसदीय समिति वा अन्य न्यायिक आयोग मार्फत ठुला काण्डहरूको छानबिन गरी नेताहरूमा शुद्धीकरणको अभियान संञ्चलान गर्नुपर्नेमा जोड दिनुभयो ।
भ्रष्ट्राचार भएको छ तर कारबाही हुदैन् भन्ने जनतामा परेको बताउँदै थापाले निष्पक्ष छानबिन गरेर कुनै पनि हालतमा कारबाहीको दायरमा ल्याउन सके मात्रै नेपाली समाजमा आशाको सञ्चार गर्न सकिने धारणा व्यक्त गर्नुभयो ।
विकास निर्माणका काम समेत समयमै पुरा नहुँदा झनै निराशा बढेको बताउँदै महामन्त्री थापाले विकास निर्माणका आयोजना समयमै नसकिनुको कारण सरकारले पहिल्याउनुपर्ने बताउनुभयो ।
रोजगारीको अवसर सृजना गरेर जीविकोपार्जनमा समस्या नहुने गरी समान रोजगारीका अवसर सृजना गरेर विशेष गरी युवा पुस्तामा छाएको निराशा हटाउनुपर्नेमा थापाको जोड छ ।
कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्यद्धय देवेन्द्रराज कंण्डेल, सरस्वती अर्याल, प्रदेश महामन्त्री विक्रम खनाल लगायतले काँग्रेस एक ढिक्का भएर जनतामा छाएको निराशा चिर्न तर्फ लाग्नुपर्ने बताउनुभयो ।