२५ पुष २०८०, बुधबार
काठमाडौँ : विशेष अदालतले पूर्व डीआईजी एवं साहित्यकार महेशविक्रम शाहलाई तीन वर्ष जेल सजाय सुनाएको छ।
शाहलगायतविरुद्ध १६ लाख ६९ हजार ४२ रुपैयाँ बिगो दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हालेको मुद्दामा विशेष अदालतले शाह र प्रहरीका पूर्वसई दीपेन्द्रप्रसाद पनेरूलाई जनही ३ वर्ष कैद हुने फैसला गरेको हो। साथै दुवैजनालाई बिगो र बिगो बमोजिमको जरिवानासमेत सजाय भएको अदालतका उपरजिष्ट्रार धनबहादुर कार्कीले थाहा खबरलाई जानकारी दिए।
११ पुसमा विशेष अदालतले शाहसहित दुईजनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको थियो। सोही मुद्दाका आरोपित प्रहरी हवल्दार केशवसिंह ऐरी र लेखापाल सञ्जीव विशंखेले भने सफाइ पाएका थिए।
तत्कालीन मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र चितवनको समादेशक हुँदा उनीहरूले सरुवा भएका प्रहरी जवानहरूको तलबभत्ता शाह र पनेरूले मिलेमतोमा आफूले लिएका थिए।
२७ वैशाख २०७२ मा प्रहरी जवान पदमा नयाँ भर्ना भएर सोही वर्ष पुसमा तालिम समापन भएका १०३ जनाको दुई महिना बराबरको तलबभत्ता उनीहरूले आफैँले लिएका थिए। २०७२ माघदेखिको तलबभत्ता सरुवा भएको दरबन्दीबाट खान पाउने गरी सबै प्रहरी जवानहरूको सरुवा भएकोमा तत्कालीन समादेशक रहेका शाह र लेखापाल प्रहरी नायब निरीक्षक पनेरूले दुई महीनाको तलबभत्ता खर्च लेखी नगद निकाली भ्रष्टाचार गरेका थिए।
उनीहरूले यही समयमा सरुवा भएका थप १४२ जनाको दुई दिनको तलबभत्ता समेत आफैँले लिएका थिए।
शाहले ‘छापामारको छोरो’ कथा संग्रहका लागि वि.सं. २०६३ को मदन पुरस्कार पाएका छन्।