२८ पौष २०७९ बिहिबार
काठमाडौं । मन्त्री परिषदको बैठक आज बस्दै छ । प्रधानमन्त्री पुष्पकमल दाहालको आव्हानमा बैठक बस्न लागेको हो । बैठकमा मन्त्रीमण्डललाई पूर्णता दिने लगायतका विषयमा छलफल हुने बताईएको छ ।
प्रधानमन्त्री प्रचण्डले विश्वासको मत प्राप्त गरेकाले मन्त्रिमण्डल विस्तारको तयारी गरेका छन्। उनले पहिलो चरणमा आठ सदस्यीय मन्त्रिपरिषद् बनाएका थिए। सारथिमध्ये तीनजना उपप्रधानमन्त्री छन्। जसमा विष्णुप्रसाद पौडेल, नारायणकाजी श्रेष्ठ र रवि लामिछाने छन्।
अन्य मन्त्रीमा एमालेबाट ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्रकुमार राई र जनमतबाट अब्दुल खान छन्। उनीहरूलाई अझै जिम्मेवारी तोिकएको छैन्। मन्त्रिपरिषदको बैठकपछि सत्ता सझेदारको बैठक बोलाइएको छ। बैठक अपरान्ह तीन बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए। आजको बैठकमा कुन दलले कति मन्त्रालय लिने भन्ने विषय टुंग्याउन बैठक बोलाइएको हो।
सत्ता साझेदार दलहरुको बैठक बस्नुअघि प्रमुख घटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग प्रधानमन्त्री प्रचण्डले हिजो बेलुकी बोलकोट पुगेर छलफल गरेका थिए। उनीहरुबीच शक्ति बाँडाफाँड केन्द्रित छलफल भएको र त्यसैका आधारमा आज सत्ता साझेदार दलहरुको बैठक बोलाइएको हो।
माघ ५ मा सभामुख चयनका लागि चुनाव हुँदैछ। त्यसअघि नै शक्ति बाँडफाँड टुंगो लगाउने सत्ता साझेदार दलहरुको तयारी छ। तर, सरकारमा सहभागी हुने दलको संख्या नै यकिन नहुँदा मन्त्रालयको भागवण्डा पेचिलो बनिरहेको छ।
सरकारलाई एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत र नागरिक उन्मुक्ती पार्टीले समर्थन गरेका छन्। नागरिक उन्मुक्तिले समर्थन गरे पनि सरकारमा सहभागी नहुने बताउँदै आएको छ।
राप्रपाले सहभागी हुने निर्णय गरेपनि कति मन्त्रालय दिने टुंगिएको छैन। जसपाले सरकारमा सहभागी हुने नहुने निर्णय गरेको छैन्। सरकारलाई विश्वासको मत दिएका कांग्रेस र नेकपा एकीकृत समाजवादीले प्रतिपक्षमा बस्ने बताए पनि समाजवादीलाई सरकारमा सहभागी गराउने प्रयासमा प्रधानमन्त्री प्रचण्ड लागेका छन्।
मन्त्रिपरिषद्लाई पूर्णता दिएपछि अरु पदहरुमा छलफल गर्ने सत्ता गठबन्धनको तयारी छ।