दैनिक बिरामीको उपचारमा खटिने डा. तोसिमा कार्कीको जिम्मेवारी अहिले फेरिएको छ । आजभन्दा दुई महिनाअघि शल्य चिकित्सकका रूपमा रहनुभएका डा. कार्कीले अब प्रतिनिधि सभा सदस्यका रूपमा आफ्नो परिचय बनाउनुभएको छ । गएकाे मङ्सिर ४ गते सम्पन्न चुनावमा उहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट ललितपुर क्षेत्र नं ३ बाट निर्वाचित हुनुभएको हो । आफ्ना प्रतिद्वन्द्वीलाई फराकिलो मतान्तर पारेर उहाँ नागरिकबाट अनुमोदन हुनुभएको छ ।
पेसाले चिकित्सक उहाँको ध्यान सरकारमा रहेर स्वास्थ्य सेवा सुधार्नेतर्फ रहेको छ । त्यसैका लागि उहाँको पार्टी सरकारमा सहभागी भएको उहाँको धारणा छ । सरकारले पूर्णता पाउने तयारीमा रहेका बेला डा. कार्की आफ्नो विज्ञताअनुसार पार्टीले आफूलाई सरकारमा सहभागी गराए स्वास्थ्यमन्त्रीका रूपमा काम गर्ने अपेक्षा राख्नुभएको छ । उहाँले आफू सरकारमा गए नेपाली नागरिकलाई सर्वसुलभरूपमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउने पहिलो काम नै रहेको बताउनुहुन्छ ।
कति मानिसले गरिबीका कारण स्वास्थ्य सेवा पाउन नसकेको उहाँ आफैँले देख्नुभएको छ । ती गरिब र निमुखा पैसाको अभावले उपचार सेवाबाट वञ्चित हुन नपरोस् र सबै नेपालीले संविधानको व्यवस्थाअनुसार आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन उहाँ आफू लागिपर्ने बताउनुहुन्छ ।
यस्तै उहाँको ध्यान अहिले कोरोना भाइरस नियन्त्रणमा समेत रहेको छ । छिमेकी देश भारत र चीनमा बीएफ–७ नामक नयाँ भेरियन्ट फैलिरहेको अवस्थामा नेपालमा पनि नआउला भन्न सकिन्न । त्यसैले याे नयाँ भाइरसलाई कसरी नियन्त्रण गर्न सकिन्छ भनेर पनि आफ्नो कार्ययोजना बनाइरहनुभएको छ ।
डा. कार्की देशका परम्परागत राजनीतिक दलको नेतृत्वले देशलाई सही गन्तव्यमा लैजान नसकेको पनि टिप्प्णी गर्नुहुन्छ । यस्तो अवस्था भएपछि आफू नै राजनीतिमा आएको उहाँ बताउनुहुन्छ ।
आफूभन्दा वरिष्ठ चिकित्सक भए पनि उहाँबाट राम्रो स्वास्थ्य सेवा दिन नसकिरहेको, गुणस्तरीय स्वास्थ्य सेवा नागरिकसमक्ष नपुगेकोले समग्र स्वास्थ्य सेवालाई सुधार्नका लागि चिकित्सक पेसा सम्भव नभएपछि आफूले राजनीति रोजेको उहाँको तर्क छ ।
‘एउटा चिकित्कसले मात्र समग्र स्वास्थ्य सेवा सुधार गर्न नसक्ने अवस्था मैले देखेँ । समग्र स्वास्थ्यको विकृति, विसगङ्ति सुधार गर्नका लागि त जनप्रतिनिधि हुनुपर्दछ भन्ने मलाई लाग्यो । अनि राजनीतिमा हाम फालेको हुँ । मलाई लाग्छ म सफल पनि भएँ । अब नागरिककाे सेवा गर्नु मेरो कर्तव्य हो’, उहाँ भन्नुहुन्छ ।