नेकपा माओवादी केन्द्रले औद्योगिक विकास र युवालाई उद्यममा परिचालन गर्न आकर्षक घोषणा समेटेर चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ ।
माओवादीले सोमबार सार्वजनिक गरेको प्रतिबद्धतापत्रमा स्वदेशी र विदेशी लगानीमा उद्यम विकास, रोजगार सिर्जना, उत्पादन वृद्धिमार्फत आयात प्रतिस्थापनका लागि उद्यम गर्नेलाई सहुलियत र सहयोग उपलब्ध गराउने उल्लेख छ ।
सामूहिक उद्यमशीलताको विकास गर्न १० जनाभन्दा बढी युवा मिलेर उद्यम स्थापना गरे कुल लगानीको ५० प्रतिशतसम्म लगानी सहभागिता वा अनुदानको व्यवस्था, वैदेशिक रोजगारीबाट फर्केका युवाको सञ्जाल निर्माण गरी उनीहरूलाई सामूहिक तथा निजी उद्यम स्थापना गर्न उद्योग–व्यवसायलाई बिउ पूँजी, ब्याज अनुदान, बीमा प्रिमियममा छुट तथा प्राविधिक सहयोग उपलब्ध गराइने प्रतिबद्धतापत्रमा समावेश गरिएको छ ।
यस्तै उद्योग स्थापना गर्न सार्वजनिक जग्गा सहज रूपमा लिजमा उपलब्ध गराइने, ठूला औद्योगिक प्रतिष्ठान स्थापना गर्न स्थान छनोट र त्यस्ता स्थानमा आवश्यक औद्योगिक सडक, ढल निकास र विद्युत् जस्ता पूर्वाधारको व्यवस्था गर्न सरकारले सहयोग गर्ने, वार्षिक १ करोड रुपैयाँ भन्दा माथिको विद्युत् उपयोग गर्ने, कृषि वस्तुको प्रशोधन गर्ने, शत प्रतिशत नेपाली कच्चा पदार्थ उपयोग गर्ने उद्योग र निर्यात हुने वस्तु उत्पादन गर्ने उद्योगलाई विद्युत् महसुलमा छुट दिइने कार्यक्रम पनि प्रतिबद्धता पत्रमा पत्रमा उल्लेख छ ।