१९ माघ २०७९, बिहीबार
काठमाडौं । आज माघ १९ अर्थात् तत्कालीन राजा ज्ञानेन्द्र शाहले शासकीय महत्वाकांक्षाले शासन हातमा लिएको दिन । यो दिनलाई नेपालको प्रजातान्त्रिक आन्दोलनमा ‘कालो दिन’को रुपमा लिने गरिन्छ ।
२०६१ साल माघ १९ गते प्रजातान्त्रिक व्यवस्थालाई क्रियाशील तुल्याउने भन्दै पूर्वराजा शाहले शाही सम्बोधन मार्फत शासनसत्ता आफ्नो नियन्त्रणमा लिएका थिए ।पूर्वराजा शाहले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई अपदस्थ गरी आफ्नै अध्यक्षतामा मन्त्रिमण्डल गठन गरेका थिए ।
दरबार हत्याकाण्ड लगत्तै राजा बन्न पुगेका शाहले मुलुकमा राजनीतिक अधिकार, मानवअधिकार तथा प्रेस स्वतन्त्रता कुण्ठित गरेर मोबाइल र टेलिफोन लाइनसमेत बन्द गराएका थिए ।
संविधान प्रदत नागरिकका मौलिक अधिकार निलम्बन गरी राजा ज्ञानेन्द्रले प्रमुख राजनीतिक दलका नेताहरुलाई पक्राउ गर्दै नजरबन्दमा राख्ने समेत गरेका थिए। सञ्चारमाध्यमहरुमा समेत सेना खटाएर नियन्त्रण गरिएको थियो ।
ज्ञानेन्द्र शाहको यही कदमले सात राजनीतिक दल र तत्कालीन विद्रोही माओवादीबीच दिल्लीमा १२ बुँदे सहमति सम्पन्न भई जनआन्दोलन भयो ।अन्ततः २०६२ चैत २४ गते सुरू भई २०६३ बैशाख ११ सम्म चलेको १९ दिने आन्दोलनको बलमा राजा ज्ञानेन्द्र संसद पुनर्स्थापना गर्न बाध्य भए ।
राजा आफैंले पुनर्स्थापना गरेको संसदले राजतन्त्रका सम्पूर्ण अधिकार छिन्दै अन्ततः २०६४ सालमा सम्पन्न संविधानसभाको पहिलो बैठकले मुलुकबाट राजतन्त्रको अन्त्यको घोषणा गर्यो ।त्यसपछि संविधानसभामार्फत संविधान बनाएर देश संघीय संरचनाको अभ्यासमा गएको छ ।
संविधानसभाले लिएको निर्णय पालनाका साथ राजा ज्ञानेन्द्रले टेलिभिजन सम्बोधनमार्फत् ‘जनताको नासो जनतालाई नै फिर्ता गरिदिएको’ घोषणा गर्दै नारायणहिटी दरबारबाट बाहिरिएका थिए ।
मुलुकले राजा फालेर गणतन्त्र अंगिकार गरेको डेढ दशकको अवधिमा पनि मुलुकको राजनीति, विकास र चेतनाको स्तरमा खासै परिवर्तन देखिएको छैन ।