२८ कात्तिक २०८१ बुधबार
दाङ । दाङमा करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको ज्यान गएको छ । जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नं–७ गैरापातुका ४० बर्षीय सम्शेर चलाउनेको माछा मार्ने क्रममा करेन्ट लागेर ज्यान गएको हो ।
मंगलबार साँझ घर नजिकैको भजना खोलामा करेन्ट प्रवाह गरी माछा मार्दै गर्दा उनको ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए ।
स्थानीय कमला विकको घरबाट विद्युत जडान गरी माछा मार्ने क्रममा करेन्ट लागेको प्रहरीले जनाएको छ । घटनास्थलबाट करेन्ट लगाउन प्रयोग गरिएको तार समेत बरामद गरिएको छ । घटनामा संलग्न रहेको आरोपमा सोही ठाउँका ४५ वर्षिय बल बहादुर बोहरा, ६२ वर्षका गोरे वली र १२ वर्षका सन्तोष विक पक्राउ गरेर घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।।