अरुण कुमार नेपाली
२४ असार २०८० आइतबार
दाङ—कुनै एक जमाना थियो,बाघ ढुङ्गा देख्ने वित्तिकै मानिसको भागाभाग हुन्थ्यो ।मानिसहरु बाघढुङ्गा भएको बाटो हिड्नै डराउथे । बाटोमा बाघ छ भन्ने त्रासले मानिसहरु हिड्नको लागी अर्कै बाटो प्रयोग गर्थे ।
तुलसीपुर उपमहानगरपालिका वडा नंं.१४ को श्यामसुन्दर सामुदायिक वनमा रहेको बाघ ढुङ्गा देख्ने जतिको सातो नै जाथ्यो । किनकि उनीहरुले त्यो ढुङ्गा साच्चिकै बाघ नै हो भन्ने ठान्थे । एक्कासी देख्ने जो कोहीले पनि त्यसलाई बाघ नै मान्थे ।
ऐतिहासिक महत्व बोकेको उक्त ढुङ्गा अहिले जिल्लामा बाघढुङ्गाको नामबाट परिचित छ ।मौलिक पहिचान रहेको त्यस संरचना पछिल्लो समयमा भने मासिने अवस्थामा पुग्न थालेको छ । सम्बन्धित निकायले संरक्षणमा कुनै ध्यान नदिदा जिल्लाको पहिचानसंग जोडिएको बाघढुङ्गा क्रमश मासिने अवस्थामा पुगेको हो । पहिले साच्चिकै बाघ झै लाग्ने बाघढुङ्गा पछिल्लो समयमा नमुनाको रुपमा मात्र देख्न सकिन्छ ।
हेर्न आउने र बाटो हिड्ने मानिसले त्यसै माथि चढेर ढुङ्गाले थिच्ने, हान्ने गर्नाले धेरै भागमा क्षति पुगेको छ ।खास गरी टाउको ,अनुहार र खुट्टामा क्षति पु¥याईएको छ ।करिब ६३ वर्ष पुरानो ऐतिहासिक महत्व बोकेको उक्त बाघढुङ्गाको वनावटमा दिनानुदिन क्षयीकरण हुँदै गइरहेको छ ।
आन्तरीक पर्यटकको आकर्षणको केन्द्र बनिरहेको उक्त बाघढुङ्गाको संरक्षणमा स्थानीय सरकारले कुनै चासो नदेखाएको स्थानीयको गुनासो छ । बाघढुङ्गा हेर्न अहिले दिनहुँ जिल्लाका विभिन्न ठाउँहरुबाट मानिसहरु आउने गरेका छन् ।
विं.स. २०१६ सालमा साविक डुरुवा गा.वि.स.वडा नं.९ ड्वाङ्गपुर निवासी राम बहादुर बि.क. र शेरबहादुर बि.क.ले कुदेबाघढुङा बनाएका थिए ।उनीहरु दुई दाजु भाइ थिए । करिब एक हप्ताको समय लगाएर ती दुई दाजुभाइले बाटै छेउमा रहेको ठुलो ढुङलाई कुदेर बाघ बनाएका थिए।
उक्त गा.वि.स.अहिले तुलसीपुर उपमहानगरपालिका वडा नंं.१४ अन्तर्गत पर्छ। सोही साल(वि.स.२०१६)मा तत्कालिन राजा महेन्द्र दाङ जिल्लाको कान्छो उपत्यका भनेर चिनिने तुही उपत्यका र तुलसीपुर उपमहानगरपालिका वडा नंं.१४ लाई जोड्ने दामोदर सडक हुँदै तुलसीपुर सवार हुने कार्यक्रम थियो ।
राजा महेन्द्रलाई देखाउन ती दाजुभाइले ढुङाको बाघ बनाएका थिए । दामोदर सडक हुँदै राजा महेन्द्र तुलसीपुर सवार हुने भएपछि उनको सुरक्षार्थ केही दिन अघि उक्त सडकमा ठुलो संख्यामा सेना र प्रहरी परिचालन गरियो । सडकमा गस्ती गर्न हिडिरहेको सेना र प्रहरीले साच्चिकै बाघै ठानेर बाघढुङा माथि अन्धाधुन्धा गोली समेत प्रहार गरेको जानकारहरु बताउछन् । गोली लागी त्यति बेला नै बाघ ढुङामा केही क्षति पुगेको थियो ।
अझै पनि गोलीका डामहरु स्पष्ट देख्न सकिन्छ।तर सुरक्षाको कारण देखाउदै राजा महेन्द्रले त्यो रुट परिवर्तन गरी राप्ती राजमार्गको गोरेटो बाटो हुँदै तुलसीपुर पुगेका थिए । फलतः रामबहादुर र शेरबहादुरले आफुहरुले बनाएको बाघढुङा राजा महेन्द्रलाई देखाउनै पाएनन् ।
बाघढुङ्गाको संरक्षणका लागि विभिन्न निकाय र सरोकारवालसंग पटक पटक ध्यानाकर्षण गराउदा पनि कसैले चासो नदिएको निर्माणकर्ताका छोरा बलबहादुर बिकले बताए।उनले भने—संरक्षणको निम्ति सांसददेखि विभिन्न निकायलाई बाघ ढुङ्गाको संरक्षण गर्न धेरै पटक अनुरोध गरियो तर कसैले मतलब राखेनन्।
जिल्लाको पर्यटन विकासमा महत्व बोकेको बाघ ढुङ्गाको संरक्षण नभएकोमा बि.क.ले दुखेसो पोखे ।बि.क.ले वरिपरि तारवार गर्न सके मात्र पनि बाघढुङ्गाको संरक्षणमा धेरै टेवा पुग्ने र त्यसले आन्तरीक पर्यटकलाई थप आकर्षित गर्ने बताए ।
पर्यटन विकासमा ऐतिहासिक वस्तुको महत्व धेरै भएको बताउदै बि.क.ले बाघढुङ्गाको संरक्षण गर्ने दायित्व अब स्थानिय सरकारको भएको वताए ।यसैबीच बाघढुङ्गाको संरक्षण गर्न वडा सरकारले योजना बनाए पनि बजेट अभावका कारण काम हुन नसकेको तुलसीपुर उपमहानगरपालिका वडा नं.१४ का वडाध्यक्ष शंकर कुमार खड्काले वताए ।‘उनले भने,—दाङ जिल्लाको चिनारीसंग जोडिएको बाघढुङ्गाको संरक्षणका लागि आवश्यक पर्ने संरचना निर्माण गर्न चाहिने प्रर्याप्त बजेट वडासंग छैन। जसको कारण संरक्षणको काम अघि बढाउन सकिएको छैन।’
बाघढुङ्गाको संरक्षणका लागि तुलसीपुर उपमहानगपालिकालाई बारम्बार ध्यानाकर्षण गराउँदा समेत कुनै सुनुवाई हुन नसकेको वडाध्यक्ष खड्काले बताए ।आन्तरीक पर्यटकको आकर्षणको केन्द्र बनेको बाघढुङ्गाको चिनारी तुलसीपुरसंग मात्र नभई समग्र दाङ जिल्लासंग जोडिएकाले यस संरक्षण गर्ने दायित्व सबैको भएको वडाध्यक्ष खड्काले वताए ।बाघढुङ्गाको संरक्षण गर्ने कामलाई वडा सरकारले प्राथमिकतामा राखेको बताउदै वडाध्यक्ष खड्काले बजेट व्यवस्थापन हुने वित्तिकै काम अघि बढाईने बताए ।