
रसुवा- चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट पछिल्लो छ महिनामा २९ अर्ब रुपैयाँ भन्दा बढीको सामग्री आयात भएको रसुवा भन्सार कार्यालयले जनाएको छ ।
चालु आर्थिक बर्षको साउनदेखि पौष मसान्तसम्म २८ अर्ब ५४ करोड २३ लाख रुपैयाँबराबरको सामग्री आयात भएको हो । आयात भएका सामग्रीहरुमा बिद्युतीय सवारी साधन, स्याउ, ओखर तयारी कपडाका साथै जलविद्युत् र गाडीका पाटपुर्जा धेरै रहेका छन् ।
यसैगरि नेपाली सामग्री चीन निर्यात हुन थालेपछि पछिल्लो छ महिनामा एक अर्ब २७ करोड असी लाख रुपैयाँ बराबरको समाग्री निर्यात भएको छ । रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकका अनुसार आयातको तुलनामा निर्यातको हिस्सा भने निकै न्यून रहेको बताउनुभयो ।
रसुवागढी नाकाबाट चीनतर्फ निर्यात भएका सामग्रीहरुमा मूर्ति, कार्पेट, बाँसका मुढा, ह्यान्डीक्राफ्ट, हाते कागज, तामाका सजावट लगायतका सामग्रीहरु छन् । कार्यालयका अनुसार चीनको केरुङतर्फ सामान निर्यातका लागि छ वटा फार्म सक्रिय छन ।
स्थलगत मार्गबाट सामान पठाउन सक्दा चीनसँग निर्यात बढेको देखिन्छ भने नेपालबाट चीन तर्फ नेपाली सामाग्री पठाउन सके थोरै भए पनि ब्यापार घाटामा कमी आउने भन्सार प्रमुख पाठकको भनाई छ ।