२०७९ माघ २९ गते
काठमाडौं : सत्तारूढ उच्चस्तरीय संयन्त्रको बैठकले सत्ता सहकार्यलाई मजबुत बनाएर जाने निर्णय गरेको छ।आइतबार प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा बसेको उच्चस्तरीय संयन्त्रको बैठकले यस्तो निर्णय गरेको हो।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपप्रधान एवं ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री राजेन्द्रप्रसाद लिङ्देनले राष्ट्रपतिको बारेमा सत्तारुढ दलबीच कुनै विमति नरहेको दाबी गरे। त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुन: सत्तामा फर्काउन प्रयासबारे पनि बैठकमा छलफल भएको उनले बताए। रास्वपा छिट्टै सरकारमा फर्किन सक्ने पनि उनले सुनाए।
उनले सरकार निर्माण गर्दा भएको सहमतिलाई नै निरन्तरता दिने कुरा सत्ता गठबन्धनको अडान रहेको बताए। उनले आजको बैठकमा उच्चस्तरीय संयन्त्रको बैठकलाई निरन्तरता दिने र अहिलेसम्म गरेका कामका विषयमा समीक्षा भएको बताए।
‘अहिलेसम्म सरकारले गरेका काम कारबाहीहरूको बारेमा र आपसी समन्वयको बारेमा कहाँ के कमी कमजोरी रहे? भन्ने विषयमा समीक्षाहरू भए। आगामी दिनमा अझ मजबुत ढंगले सहकार्यलाई अघि बढाएर लैजाने भन्ने सहमति भएको छ। यस प्रकारको भेटघाटलाई कायम राख्ने र निरन्तरता दिने भन्ने सहमति भएको छ’, उनले भने, ‘ हामीले सरकार निर्माणका क्रममा गरेको सहमति नै अहिले पनि सत्ता साझेदार दलहरूमा विमति छैन। बाहिर आएका कुरामा सत्यता छैन। रास्वपालाई पुनः सरकारमा ल्याउने बारेमा छलफल भइरहेको छ। उपयुक्त समयमा रास्वपा सरकारमा आउन सक्छ।’
मन्त्री लिङ्देनले सत्ता साझेदार दलहरूबीच राष्ट्रपतिको विषयमा विमति भन्ने खबर बाहिर आए पनि त्यसमा सत्यता नभएको जिकिर गरे।