१० चैत्र २०७९, शुक्रबार
काठमाण्डौ—केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना-२०७८को तथ्याङ्क सार्वजनिक गरेको छ।
पछिल्लो तथ्याङ्क अनुसार सन् २०२१को नोभेम्बर २५ तारिखसम्ममा नेपालको जनसङ्ख्या दुई करोड ९१ लाख ६४ हजार ५७८ पुगेको छ।
एक दशकअघि नेपालको जनसङ्ख्या वृद्धिदर १.३५ प्रतिशत रहेकामा हाल त्यो ०.९२ प्रतिशतमा झरेको पछिल्लो जनगणनाले देखाएको छ।
पुरुषहरूको सङ्ख्या एक करोड ४२ लाख ५३ हजार ५५१ अर्थात् कुल जनसङ्ख्याको ४८.९८ प्रतिशत छ भने महिलाहरूको सङ्ख्या ५१.०२ प्रतिशत (एक करोड ४९ लाख ११ हजार ०२७) छ।
तथ्याङ्क अनुसार प्रत्येक एक सय महिलाको अनुपातमा पुरुषहरूको सङ्ख्या ९५.५९ छ।
शुक्रवार सार्वजनिक गरिएको तथ्याङ्क अनुसार देशका ७७ जिल्लामध्ये काठमाण्डूको जनसङ्ख्या सर्वाधिक २० लाख ४१ हजार ५८७ पुगेको छ।
त्यसपछि धेरै जनसङ्ख्या हुने जिल्लामा क्रमशः मोरङ, रुपन्देही, झापा अनि सुनसरी छन्।
सबैभन्दा कम मनाङ जिल्लाको जनसङ्ख्या ५,६५८ छ। कम जनसङ्ख्या हुने जिल्लाको सूचीमा दोस्रो स्थानमा मुस्ताङ, डोल्पा, रसुवा र हुम्ला छन्।
‘‘काठमाण्डूको वार्षिक जनसङ्ख्या वृद्धि दर सर्वाधिक (१.५१ प्रतिशत) छ भने मनाङको सबैभन्दा कम (-१.३९ प्रतिशत) छ,’’ प्रतिवेदनमा उल्लेख छ।