२० असार २०८०, बुधबार
काठमाडौं :- राष्ट्रिय सभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा माग गरेका छन् । प्रधानमन्त्री दाहालको अभिव्यक्तिलाई लिएर एमाले सांसदहरूले बैठक सुरू हुनेवित्तिकै प्रधानमन्त्रीको राजीनामा माग गरेका हुन्।
आजको बैठकमा विनियोजन विधेयकमाथि छलफल गर्ने कार्यसूची थियो।
एमाले सांसद् देवेन्द्र दाहालले भने, ‘गत असार १८ गते भारतीय नागरिक प्रीतम सिंहको जन्म दिनको अवसरमा उनकी छोरीको पुस्तक विमोचमा प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिलाई लिएर देशव्यापी विरोध भइरहेको छ । हाम्रो देशको प्रधानमन्त्री कसले नियुक्ती गर्छ ? प्रीतम सिंह राजनीतिमा चासो राख्नुहुन्थ्यो र मलाई प्रधानमन्त्री बनाउन भूमिका खेलेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति आपत्ति जनक छ । प्रधानमन्त्री ज्यूले जवाफ नदिँदासम्म बैठक सञ्चालन हुन दिँदैनौं।’
उनले भारतको इसारामा चल्ने प्रधानमन्त्री स्वीकार्य नहुने बताए। एमालेले अवरोध जनाएपछि राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक ३ बजेर १ मिनेटसम्मका लागि स्थगित गरेको घोषणा गरे।
प्रधानमन्त्री दाहालले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रीतम सिंह पटक पटक दिल्ली धाएको अभिव्यक्ति दिएका थिए।