११ श्रावण २०८०, बिहीबार
काठमाडौं :- परोपकारी संस्था नेपाल रेडक्रस सोसाइटीका दुई समानान्तर समितिले आफू नै वैधानिक भएको दाबी गरेका छन् ।
असार २५ गते चुनिएको नेत्रप्रसाद तिम्सिना नेतृत्वको समिति र साउन २ गते निर्वाचित सुदर्शन नेपाल नेतृत्वका दुवै समितिले आफू नै वैधानिक रहेको दाबी गरेका हुन् ।
नेपाल अध्यक्ष रहेको समितिले कार्यालय पुगेर जिम्मेवारी बहनसमेत गरिसकेको छ । आज पत्रकार सम्मेलन गरी नेपाल नेतृत्वको समितिले अन्य समितिको भ्रममा नपर्न आग्रह गरेको छ भने तिम्सिना पक्षले भने अर्को समितिलाई अवैध भनेको छ ।
सोसाइटीका उपमहामन्त्री मनोजकुमार थापाले नेपाल रेडक्रस सोसाइटीको निर्वाचन विधानत: र वैधानिक तरिकाले नै भएको दाबी गरे । ‘सुदर्शनप्रसाद नेपालको अध्यक्षतामा गठित कार्यसमिति नै आधिकारिक कार्यसमिति हो,’ उनले भने ।
यस्तै नेपाल रेडक्रस सोसाइटीका महामन्त्री दिपेन्द्र ढकालले पनि आधिकारिक निर्वाचन आफूहरूले गरेको दाबी गरे । ‘आधिकारिक समितिले गरेको आधिकारिक निर्वाचन हामीले गर्या हो । त्यो देशको कानुनसँग मिल्ने छ । रेडक्रसको विधान र अन्तर्राष्ट्रिय अभ्यासबमोजिम छ । त्यसो भएर हामी नै आधिकारिक समिति हो ।’
जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्देशन अनुसार असार २७ र २८ गतेका लागि रेडक्रसको निर्वाचन तोकिएको थियो । निर्वाचनको तयारी भइरहेका बेला परेको रिटमा उच्च अदालत पाटनले निर्वाचन यथास्थितिमा राख्न आदेश दियो । तर, अदालतको आदेश आउनु अगावै तिम्सिना पक्षले २५ गते नै निर्वाचन गरेको थियो ।
नेपाल पक्षले भने अदालतले निर्वाचनका लागि बाटो खुला गरिदिएपछि निर्वाचन गरेको हो । नेपाल नेतृत्वको ३३ सदस्यीय निर्वाचन समितिमा कांग्रेस, माओवादी र एकीकृत समाजवादीले भागबन्डा गरेका छन् ।
सरकारले पनि नेपाल नेतृत्वको समितिलाई मान्यता दिएको छ ।