१२ श्रावण २०८० शुक्रबार
काठमाडौंः— राजस्व अनुसन्धान विभागको विशेष टोलीले बुधबार रेडी ट्रेड प्रालिको सोह्रखुट्टेस्थित गोदाममा छापा मारेर बरामद गरेको ६६ कार्टुन ब्रेकसु तौलिन सुरु गरेको छ । सुन नभेटिएका यस्ता ६६ कार्टुनमा रहेका ब्रेकसुको विभागले तौल निश्चित गर्न लागेको हो ।
यी ६६ कार्टुनसँगै विभागले सुन गाल्ने तथा तौलिने मेसिन पनि बरामद गरेको थियो । चीनको दोङगोन सुतु ट्रान्सपोर्टेसन कम्पनी, ताइवानको तालमड कम्पनी र चीनकै जियाङनेन फेङटोङ ट्रान्सपोर्टेसन कम्पनीले पठाएका सामान नेपालको रेडी ट्रेड कम्पनीका नाममा आउने गरेको देखिएको छ ।
पछिल्लो दुई महिनामा मात्रै रेडीले यी कम्पनीमार्फत १९ सय ९७ केजीबराबरका सामान भित्र्याएको थियो । रेडीकै नाममा असार २९ मा क्याथे प्यासिफिकको कार्गोमा आएको ३६ कार्टुनमध्ये आठवटा भन्सार जाँचपास भएर बाहिरिएपछि गत २ गते राजस्व अनुसन्धान विभागले सिनामंगल(गैरीगाउँको सडकबाट बरामद गरेको थियो ।
राजस्वले रेडी ट्रेडलाई बढी केन्द्रित गरेर अनुसन्धान गरिरहेको छ ।