लमजुङका अधिकांश फाँटहरुमा यतिखेर धान काट्ने चटारो छ । यही चटारोका बीचमा निर्वाचनको चर्चा पनि चुलिँदै गएको छ। मतदाताको व्यस्ततालाई बुझेर उमेदवारहरु भने अगुवा कार्यकर्ताहरुसँगै गाउँ पसेका छन् ।
एउटा मात्र निर्वाचन क्षेत्र रहेको लमजुङमा १ लाख ३३ हजार मतदाता छन् । अधिकांश पहाडी भूभाग र केही मात्र बजारी क्षेत्र रहेको लमजुङका कतिपय गाउँहरु त विकट भागमा पर्छन् । मंसिरको चटारोले किसानलाई फूर्सदै छैन तर कामकै चटारोको बीचमा पनि चुनावी चासो र चर्चा लम्जुङका मतदाता गरिरेहेका भेटिन्छन् ।
निर्वाचनको चासो र चर्चा विकट क्व्होलासोथारको पसगाउँ, सिङ्दी र दूधपोखरीको पिप्रुसम्म पुर्यागउने काम उमेदवारहरुको घरदैलो र अगुवा कार्यकर्ता भेटघाट अभियानले गरिरहेको छ। साँच्चै भन्ने हो भने बजार क्षेत्रमा भन्दा गाउँकै मतदाता रिझाउन लमजुङका उमेदवारहरु गाउँ पसेका हुन् ।
लमजुङमा दुई जना केन्द्रीय नेताहरुको चुनावी प्रतिस्पर्धा निकै रोचक छ । अघिल्लो निर्वाचनमा एक अर्काको सारथी बनेर केन्द्र र प्रदेशमा निर्वाचन लडेर विजयी भएका देवप्रसाद गुरुङ र पृथ्वीसुब्बा गुरुङ अहिले आमनसामने चुनाव भिड्दैन् ।
२०७४ को प्रतिनिधि सभाको निर्वाचनमा बाम गठबन्धनबाट निर्वाचन लडेका देव गुरुङलाई बलियो भर एमालेका पृथ्वीसुव्वा गुरुङको थियो । तर अहिले दुबै जनाको प्रतिश्पर्धाले लमजुङका मतदाताहरु चुनावी आँकलन गर्न समय खर्चिरहेका भेटिन्छन् । मतदानमार्फत आफ्ना प्रतिनिधि रोज्ने अभियानमा जोङिन शहरी भेगदेखि पडाडी भूभागका मतदाताहरु हौसिएका त छन तर विकास र समृद्धिको योजना हरेक मतदाताले उमेदवारसँग मागिरहेकै हुन्छन् ।
जनजाति बाहुल्यता रहेको लमजुङको प्रदेश सभा निर्वाचन क्षेत्र १ मा नेपाली कांग्रेसका जिल्ला सभापति डा. टकराज गुरुङ र एमालेका केन्द्रीय सदस्य जमिन्द्रमान घले चुनावी मैदानमा छन् । प्रदेश सभा निर्वाचन क्षेत्र २ मा भने कांग्रेसका पूर्वसभापति भेषबहादुर पौडेल र एमालेका जिल्ला अध्यक्ष कृष्णप्रसाद अधिकारी प्रतिस्पर्धामा छन् ।
लमजुङमा सत्ता साझेदार दलका उमेदवारहरु स्थानीय तहको निर्वाचनमा गठबन्धनबाट प्राप्त उपलब्धीलाई थप व्यवस्थित बनाउने रणनीतिमा देखिन्छन भने एमालेका उमेदवारहरु स्थानीय तहको निर्वाचनमा प्राप्त मतलाई जोगाउन मेहनत गरिरहेका छन् ।
नेपाल टेलिभिजन बाट साभार