अरुण कुमार नेपाली
४ पौष२०७९ बुधबार
दाङ – देउखुरीको लमहीमा छैंठौ कृषि,पर्यटन तथा व्यापारिक महोत्सव हुने भएको छ ।स्थानीय कृषि उत्पादनको बजारीकरण,खस्कदो व्यापारको पुनरुत्थान र पर्यटन विकासको लागी महोत्सव सञ्चालन गर्न लागिएको आयोजक देउखुरी उद्योग वाणिज्य संघले जनाएको छ ।
महोत्सवको बारेमा बुधबार पत्रकार सम्मेलन मार्फत वाणिज्य संघले जानकारी गराएको हो ।‘कृषि पर्यटन उद्योग र व्यापार,देश समृद्धिको बलियो आधार’ भन्ने नारा सहित महोत्सवको तयारी थालिएको देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष खगेश्वर खनालले पत्रकार सम्मेलनमा जानकारी गराए ।

माघ १२ गतेदेखि २५ गतेसम्म महोत्सव चल्ने छ ।अजम्बरी सामुदायिक वनको पिकनिक स्थल (जैबिक बिबिधता पार्क पछाडी) महोत्सव चल्ने छ।
‘घरेलु उद्योग अन्तर्गतका उत्पादनलाई स्टलमा राख्ने छौँ, यसले यहाँको स्थानीय उत्पादनलाई प्रोत्साहन,व्यवस्थापन, बजारीकरण लगायतका कार्यमा सहयोग गर्ने अपेक्षा गरेका छौँ’देउखरी उद्योग वाणिज्य संघका अध्यक्ष खनालले भने‘स्थानीय उत्पादनलाई बजारीकरण गर्नु नै हाम्रो लक्ष्य हो।’खनालले खस्कदो व्यापार व्यवसायलाई माथि उकास्नको लागी पनि महोत्सव महत्वपूर्ण हुने वताए ।
महोत्सवमा विभिन्न जातजाती भाषाभाषीको सँस्कृती झल्किने साँस्कृतिक कार्यक्रमहरु हुनेछन । स्थानिय तथा राष्ट्रिय कलाकारहरुको उपस्थित हुने महोत्सवमा कृषिका स्टल, व्यापारिक स्टल लगायतका रहनेछन ।