१२ श्रावण २०८०, शुक्रबार
काठमाडौं :- देशभर लम्पी स्किन महामारीबाट मर्ने पशुको संख्या ५० हजार नाघेको पशुसेवा विभागले जनाएको छ ।
गाईगोरु, बाच्छाबाच्छी, राँगाभैंसी तथा पाडापाडी गरी साउन १२ गतेसम्म देशभर ५० हजार ८ सय २६ पशु मरेको विभागको तथ्यांक छ । देशभर १० लाख ८८ हजार पशु संक्रमित भएकोमा ७ लाख ८९ हजार निको भएको र २ लाख ४८ हजार अहिले पनि संक्रमित अवस्थामा रहेको जनाइएको छ ।
विभागले ३ लाख ५० हजार पशुमा लम्पी स्किन रोगविरुद्ध खोप लगाइएको जनाएको छ । कोशी प्रदेशमा ५ हजार ४२, मधेसमा १ हजार ७ सय, बागमतीमा ३ हजार ४ सय ७६ र गण्डकीमा २ हजार २ सय ९५ पशु मरेका छन् । त्यसैगरी लुम्बिनीमा ४ हजार, कर्णालीमा ८ हजार ७ सय ३ र सुदूरपश्चिममा प्रदेशमा २५ हजार ६सय १० पशु मरेको विभागले जनाएको छ ।
२०७७ असारमा मोरङको सुन्दरहरैंचा नगरपालिकाका गाईगोरुमा पहिलो पटक लम्पी स्कीन रोग देखा परेको थियो । कर्णाली, सुदूरपश्चिम, लुम्बिनी र कोशी प्रदेशका पहाडी क्षेत्रका पशु यो महामारीबाट बढी प्रभावित देखिएको विभागको भनाइ छ । यो रोग लागेका पशुमा उच्च ज्वरो आउने, दूध उत्पादन घट्ने, छालामा गिर्खा देखिने र र्याल सिँगान बग्नेजस्ता लक्षण देखा गर्ने गर्दछ ।