
प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटमा नेपाल पुलिस क्लबले अपराजित रहँदै फाइनल खेल्ने भएको छ।
मूलपानी क्रिकेट मैदानमा बिहीबार भएको खेलमा पुलिसले सुदूरपश्चिम प्रदेशलाई ७० रनले पराजित गरेको हो।

१९९ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ३७.१ ओभरमा १२० रनमा अलआउट भयो। सुदूरपश्चिमका लागि गजेन्द्र बोहराले ३० र किरण ठगुन्नाले २४ रन बनाए। अन्य खेलाडीको प्रदर्शन उल्लेख्य रहन सकेन।
सुदूरपश्चिमलाई सस्तैमा अलआउट गर्न दीपेन्द्र सिंह ऐरीले ७ विकेट लिए। कसिलो बलिङ गरेका क्याप्टेन ऐरीले आफ्नो स्पेलमा २० रन खर्चेर ७ विकेट लिए। सागर ढकाल, ललित भण्डारी र ललित राजवंशीको नाममा १–१ विकेट रह्यो।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको पुलिस ४७.५ ओभरमा १९८ रनमा अलआउट भयो। पुलिसका लागि शंकर रानाले ४६ र कप्तान दीपेन्द्र सिंह ऐरीले ४४ रन बनाए। सुदूरपश्चिमका लागि शेर मल्लले ३ तथा मिलन बोहरा, विकास आग्री, र नारायण जोशीले २–२ तथा दिपक चन्दले १ विकेट लिए।

लगातार ९ खेलमा जित हासिल गरेको पुलिस १८ अंकसहित शीर्ष स्थानमा रह्यो। ९ खेलबाट ८ अंक जोडेको सुदूरपश्चिम छैंटौं स्थानमा रह्यो।
अब शनिबार हुने फाइनलमा नेपाल पुलिस क्लबले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।