फागुन १०,२०८१ शनिबार
रुपन्देही।लुम्बिनी प्रदेश स्तरीय ललितकला प्रदर्शनी बुटवलमा सुरु भएको छ । बुटवलमा आयोजित प्रदर्शनीको उद्घाटन गर्दै मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेश ललितकलाका लागि उर्वर भूमि भएको उल्लेख गर्नुभयो। मुख्यमन्त्री आचार्यले कला, संस्कृति, भाषा, साहित्य तथा सिर्जनाको संरक्षण, सम्बर्द्धन र प्रवर्द्धनबाट समृद्ध प्रदेश निर्माण गर्न सकिने बताउनुभयाे ।
`लुम्बिनीको माटोबाट बुद्धको मूर्ति निर्माण गरी विश्व बजारसम्म पुर्याउन सकिन्छ। कलाकृति र सीपहरू नयाँ पुस्तामा हस्तान्तरण गर्नु जरुरी छ´उहाँले भन्नुभयाे-` हाम्रो सम्पदाका चित्र बनाएर बजारमा पुर्याउँदा आम्दानी बढाउन सकिन्छ ।´
चित्र, मुर्ति, लाेक कला मार्फत लुम्बिनीलाई चिनाउन खाेजिएकाे छ । प्रदेशका १२ जिल्लाका कलाकारहरुले निर्माण गरेकाे आकृतिहरु राखिएका छन । १२३ जना कलाकारकाे १८० कलाकृति प्रदर्शनीमा राखिएको हाे ।
नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानको आयोजनामा सुरु भएको यो प्रदर्शनी फागुन १४ गतेसम्म सञ्चालन हुनेछ ।ललितकला प्रज्ञा-प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले अनुसन्धान, सिर्जना र सम्मानलाई प्राथमिकतामा राखिएको बताउनुभयो । उहाँले ललितकला क्षेत्रमा नयाँ कलाकार उत्पादन हुनु सुखद पक्ष भएको उल्लेख गर्दै तीन तहका सरकारले कलाकार तथा सिर्जनाकर्ताहरूको पहिचान र प्रवर्द्धनमा योगदान गर्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले बदलिँदो परिस्थितिमा आशाको किरणका रूपमा ललितकलालाई लिनुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले ऐतिहासिक कलाकृतिको संरक्षणलाई अभियानका रूपमा अघि बढाउन आवश्यक रहेको बताउनुभयो । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेलेले बुटवल उपमहानगरपालिका क्षेत्र भित्रका स्थानीय र ऐतिहाँसिक पहिचान झल्कने चित्रहरु सार्वजनिक स्थलमा आगामी दिनमा काेरिने बताउनु भयाे ।
त्यसैगरी, उद्घाटन कार्यक्रममा नेपाल व्यावसायिक कलाकार संघ, रुपन्देहीका अध्यक्ष दिलीप रसाइली, रुपन्देही उद्योग संघका अध्यक्ष दिलीप सापकोटा लगायतले सम्बोधन गर्नुभएको थियो ।
कलाकार नरबहादुर विकले कार्यक्रम स्थलमा २० मिनेटकाे अवधिमा काेर्नु भएको चित्र मुख्यमन्त्री आचार्यलाई समेत हस्तान्तरण गर्नु भएको थियाे ।

