अरुण कुमार नेपाली
५ माघ २०७९ बिहिबार
दाङ— लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री लीला गिरीले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन्।प्रदेश सभाको बिहीबार बसेको चौथो बैठकबाट मुख्यमन्त्री गिरीले विश्वासको मत लिएका हुन्। नेपालको संविधान २०७२ को धारा १६८ (४) बमोजिम उनले विश्वासको मत लिएका हुन्।
प्रदेशसभामा उपस्थित सांसदमध्ये ५७ जना सांसदले मुख्यमन्त्री गिरीलाई विश्वासको मत दिएका छन्। विश्वासको मतका लागि मुख्यमन्त्रीले सदनमा पेश गरेको प्रस्तावको विपक्षमा भने २८ मत प्राप्त भएको छ। मुख्यमन्त्री गिरीको विपक्षमा नेपाली कांग्रेसको २७ र राष्ट्रिय जनमोर्चाको एक गरी विपक्षमा २८ जनाले मतदान गरेका छन्।
मुख्यमन्त्रीको गिरीले पाएको विश्वासको मत प्रदेश सभाको कुल सदस्य संख्याको बहुमत भएकाले उनले राखेको प्रस्ताव बहुमतले पारित भएको छ।