अरुण कुमार नेपाली
१४ जेष्ठ २०८०, आईतवार
दाङ —लुम्बिनी प्रदेश सरकारले प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। प्रदेशका आर्थिक मामिलामन्त्री धनबहादुर मास्कीले आइतबार सभामा विधेयक प्रस्तुत गरेका थिए।
उनले प्रदेशको आगामी वर्षको बजेटमार्फत दिगो, फराकिलो एवं समावेशी आर्थिक वृद्धि हासिल गर्दै रोजगारी सिर्जना, संघीयताको सबलीकरण तथा सुशासन प्रवर्धन गर्दै स्रोत साधनको परिचालनमा मितव्ययिता एवं प्रभावकारिता कायम गर्नेतर्फ लक्षित रहेको समेत बताए।
विश्वव्यापी रूपमा देखा परेका आर्थिक परिदृश्य तथा केही आन्तरिक कारणले समग्र राष्ट्रिय अर्थतन्त्रमा शिथिलता उत्पन्न भई प्रादेशिक अर्थतन्त्र दबाब रहेको परिवेशमा आफूले अर्थ मामिला मन्त्रीको जिम्मेवारी सम्हालेको समेत बताए।
यसैगरी उनले सङ्घीय सरकारबाट प्राप्त हुने अनुदान र बाँडफाँड भई प्राप्त हुने राजस्वमा आएको संकुचन तथा प्रदेशको आन्तरिक राजस्व पनि लक्ष्यअनुसार संकलन नभएको पनि बताए। सार्वजनिक खर्चको उचित प्राथमिकीकरण नहुँदा चालू खर्चमा वृद्धि र पुँजीगत खर्च न्यून रहेको समेत उल्लेख गरे।
यसैगरी स्थानीय तहको सार्वजनिक सेवा प्रवाह, विकास निर्माण र सुशासन कायम गर्ने सम्बन्धमा प्रदेश सरकार भूमिका र जिम्मेवारी स्पष्ट गरिने पनि बताए।
उनले ‘समृद्धि लुम्बिनी आत्मनिर्भर प्रदेश’ साकार पार्ने सरकारको प्रतिबद्धता रहेको दाबी गरे।
प्रस्तुत नीति तथा कार्यक्रममाथि १५ जेठ सोमबार १२ बजे बस्ने बैठकमा छलफल हुनेछ।