लुम्बिनी प्रदेशमा बहालवाला ९ जना मन्त्री चुनावी मैदानमा होमिएका छन् । तीमध्ये ३ जना संघीय मन्त्री छन् भने ६ जना प्रदेश सरकारका मन्त्री हुन् ।
बाँके क्षेत्र नम्बर २ बाट भौतिक पूर्वाधार मन्त्री मोहम्मद इस्तियाक राई, रुपन्देही क्षेत्र नम्बर ३ बाट गृहमन्त्री बालकृष्ण खाँण र दाङ क्षेत्र नम्बर १ बाट सहरी विकास मन्त्री मेटमणि चौधरी प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवार छन् । २०७४ को निर्वाचनमा खाण समानुपातिकतर्फबाट निर्वाचित भएका थिए भने राई र चौधरी अहिले उठेकै निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फ निर्वाचित भएका थिए ।
सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका गृहमन्त्री खाणले रुपन्देही–३ मा एमाले–राप्रपा गठबन्धनबाट उम्मेदवार बनेका राप्रपाका दीपक बोहरासँग प्रतिस्पर्धा गर्नुपर्ने छ ।
बाँके–२ मा मन्त्री राईले जसपाबाट उम्मेदवारी दिएका छन् । उनले राप्रपा नेता धवल शमशेर राणा र नेपाली कांग्रेसमा सुदिप नरसिंह राणासँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।
दाङ–१ मा मन्त्री चौधरीले एमालेकी शान्ता चौधरीसँग प्रतिस्पर्धा गर्नेछन् ।