१२ चैत २०७९ आइतबार
दाङ—नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सरकारबाट बाहिरिएको छ । आइतबार माओवादीबाट मन्त्री बनेका तीनै जना नेताले मुख्यमन्त्री लीला गिरीसमक्ष राजीनामा बुझाएको भौतिक पूर्वाधारमन्त्री इन्द्रजित चौधरीले जानकारी दिए ।
लुम्बिनी सरकारमा माओवादीबाट जोखबहादुर महरा, इन्द्रजित चौधरी र कृष्णा केसी गरी ३ जना सहभागी थिए ।
संघमा सत्ता समिकरण फेरिएसंगै त्यसको प्रभाव प्रदेश सरकारमा पनि देखिएको छ । सोही अनुरुप आफूहरु लुम्बिनी प्रदेश सरकाबाट बाहिरिएको मन्त्री चौधरीले बताए ।
अबको सत्ता समिकरणका विषयमा पार्टीमा छलफल गरी निर्णय लिने उनले बताए । लुम्बिनी प्रदेशमा आफ्नो नेतृत्वमा सरकार बनाउने निर्णय नेपाली कांग्रेसले यस अघि नै गरिसकेको छ ।
गिरी गत पुस २७ गते ७ दलका ५६ र २ स्वतन्त्र गरी जम्मा ५८ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए। गिरीले माघ ५ गते विश्वासको मत पाएका थिए। मुख्यमन्त्रीलाई विश्वासको मत दिएका जसपा र जनमत पार्टी अहिले सरकारमा छन्।
नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी)ले बाहिरबाट समर्थन गरेका थिए। अहिले फेरिएको सत्ता समीकरण अनुसार यी सबै दल प्रदेश सरकारको विपक्षमा छन्।
मुख्यमन्त्रीलाई विश्वासको मत नदिएको राष्ट्रिय जनमोर्चा पनि माओवादीसहितको गठबन्धनमा छ। नेकपा (एमाले)को पक्षमा राप्रपा मात्रै उभिएको छ।
८७ सदस्यीय प्रदेशसभामा पहिलो दल एमालेका २९ सांसद छन्। दोस्रो दल कांग्रेसका २७, माओवादीका ११ सांसद रहेका छन्। राप्रपा र नागरिक उन्मुक्तिका चार-चार, जसपा, लोसपा र जनमतका तीन-तीन, जनमोर्चा र एकीकृत समाजवादीका एक-एक र स्वतन्त्र १ सांसद छन्।